सूचकमा ठीकठाक छ देशको अर्थतन्त्र

<p>काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस भइरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक नै देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै देखिएका हुन् । लामो समयदेखि समस्यामा रहेको देशको अर्थतन्त्र पछिल्ला [&hellip;]</p>

काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस भइरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक नै देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै देखिएका हुन् ।

लामो समयदेखि समस्यामा रहेको देशको अर्थतन्त्र पछिल्ला सूचकहरुले भने सुधारको अवस्थामा देखिएको हो । चालु आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय तथ्यांकका अनुसार अर्थतन्त्रका हरेक सूचकहरु सुधारको गतिमा छन् । पछिल्लो समय महँगी पनि केही घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

महँगी घट्यो

पछिल्लो समय बजारमा महँगी बढेको भन्दै व्यापक आलोचना भइरहेको छ । बजारमा वस्तुको मूल्य बढ्दा भान्सा पनि महँगियो भन्दै सरकारको समेत आलोचना हुने गरेको छ । तर, राष्ट्र बैंकको ११ महिनासम्मको तथ्यांकले गत आर्थिक वर्षको तुलनामा महँगी घटेको हो ।

२०८० जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।

विदेशी मुद्राको सञ्चिती बढेको बढ्यै

नेपालको आयतमुखी अर्थतन्त्र भएकोले पनि देशको मुख्य र महत्वपूर्ण सूचकको रुपमा विदेशी मुद्राको सञ्चितिलाई लिने गरिन्छ । चालु आर्थिक वर्षको ११ महिनामा विदेशी मुद्राको सञ्चिती २१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी मुद्राको सञ्चिती २१.८ प्रतिशतले बढेको हो ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

शोधान्तर स्थिती बचतमा

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशको शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ ।

यस्तै, समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाख रुपैयाँले घाटामा रहेको छ ।

सवा ११ खर्ब पुग्यो रेमिट्यान्स

जेठ मसान्तसम्म अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४,५९,४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

आयात घट्यो, निर्यात बढ्यो

आर्थिक वर्ष २०७९/८० का ११ महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । आयत घटेर निर्यात बढ्नु भनेको देशको अर्थतन्त्रका लागि सकारात्मक विषय हो ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

यस्तो छ सरकारको खर्च राजश्व

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा संघीय सरकारको कुल खर्च ११ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँ भएको छ । समीक्षा अवधिमा चालु खर्च ८ खर्ब ७७ अर्ब ३९ करोड, पुँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ४५ अर्ब ५९ करोड भएको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ भएको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ५९ अर्ब रुपैयाँ र गैरकर राजस्व ७७ अर्ब ८५ करोड रुपैयाँ परिचालन भएको छ ।

Share News