प्रधानमन्त्रीले ‘केही हुँदैन’ भनेपछि प्रदीप अधिकारीले बुझाए स्पष्टिकरण

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मध्यस्थतापछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले स्पष्टिकरण बुझाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सोधेको स्पष्टिकरण नबुझाउने अडानमा रहेका अधिकारीले प्रधानमन्त्रीसँगको संवादपछि गत शुक्रबार स्पष्टिकरण मन्त्रालयमा बुझाएको मन्त्रालय स्रोतले विकासन्यूजलाई जानकारी दियो । ‘महानिर्देशकले शुक्रबार नै स्पष्टिकरणको जवाफ पठाइसक्नुभएको छ, उहाँले पठाएको जवाफ [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मध्यस्थतापछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले स्पष्टिकरण बुझाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सोधेको स्पष्टिकरण नबुझाउने अडानमा रहेका अधिकारीले प्रधानमन्त्रीसँगको संवादपछि गत शुक्रबार स्पष्टिकरण मन्त्रालयमा बुझाएको मन्त्रालय स्रोतले विकासन्यूजलाई जानकारी दियो ।

‘महानिर्देशकले शुक्रबार नै स्पष्टिकरणको जवाफ पठाइसक्नुभएको छ, उहाँले पठाएको जवाफ प्राविधिक समूहले अध्ययन गर्दैछ’, स्रोतले भन्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेलाई स्पष्टिकरण बुझाउनु बाँकी कुरा मिलाउँदै जाउला भन्ने आश्वासन दिएपछि अधिकारीले शुक्रबार ढिलोगरी स्पष्टिकरण बुझाएको स्रोतले बताएको छ ।

मन्त्रीस्तरीय निर्णय गरेर मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई असार ११ गते ९ बुँदे स्पष्टिकरण सोधेका थिए ।

उनको कार्यकालमा नेपालमा बढी हवाई दुर्घटना भएकोदेखि क्यान विभाजनको विषयमा अधिकारीले दिएको अभिव्यक्तिसम्मको सन्दर्भ उल्लेख गरेर स्पष्टिकरण सोधिएको थियो । सात दिनको समय दिएर सोधिएको स्पष्टिकरणको जवाफ अधिकारीले नदिएपछि मन्त्री दोस्रो पटक चेतावनीसहितको स्पष्टिकरण मागेका थिए ।

गत बुधबार स्पष्टिकरणको पत्र आएपछि अधिकारी र प्रधानमन्त्रीबीच संवाद भएको स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्री ज्यूसँग महानिर्देशक अधिकारीको निकट सम्बन्ध छ, पर्यटनमन्त्रीले उहाँलाई स्पष्टिकरण सोधेपछि प्रधानमन्त्रीकै आश्वासनमा अधिकारीले स्पष्टीकरण बुझाएनन्’, स्रोतले भन्यो, ‘तर मन्त्रीले थप ३ दिनको समय तोकेपछि मन्त्रीको चित्त बुझाउनकै लागि अधिकारीले जवाफ दिएका हुन् ।’

मागेको रकम नदिएपछि स्पष्टिकरण सोधिएको दाबी 

नेपाल नागरिक उडड्यन प्राधिकरणका केही अधिकारी भने पर्यटनमन्त्री किरातीका मान्छेले मागेको रकम नदिएपछि महानिर्देशकमाथि स्पष्टिकरण सोधिएको दावी गर्छन् ।

‘मन्त्री किरातीको मान्छे भन्दै महानिर्देशक अधिकारीसँग दैनिक २/३ जना मान्छे आर्थिक सहयोगका लागि आउने गरेका थिए, हरेक दिन पैसा माग्न आएपछि महानिर्देशक रुष्ट थिए’, प्राधिकरण स्रोतले भन्यो, ‘म मन्त्रीको मान्छे हो, आर्थिक सहयोग चाहियो भनेर दैनिक मान्छे आउँछन् । खास कुरा के हो ? भनेर महानिर्देशकले मन्त्रीलाई सोध्नुभएको रहेछ । त्यसपछि उहाँहरुको कुरा बिग्रिएको हो ।’

मन्त्रालयले निजी कम्पनीलाई हेलिप्याड बनाउन दिएको अनुमति प्राधिकरणले कार्यान्वयन नगरेपछि पनि विवाद थप सतहमा आएको स्रोतले बतायो ।

मन्त्री किरातीले निजी क्षेत्रको लगानीमा सञ्चालित सिम्रिक एयरलाई बनेपामा हेलिप्याड बनाउने स्वीकृति दिएका थिए । तर, निजी व्यवसायी तथा कम्पनीलाई हेलिप्याड बनाउन दिनु राष्ट्रिय हवाई नीति विपरित हुने भन्दै महानिर्देशक अधिकारीले रोकिदिएका थिए ।

प्राधिकरणले असार १३ गते मन्त्रालयलाई बनेपा नगरपालिका वडा नं १४ राउत गाउँको माथिल्ले इटापु डाडाँमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिप्याड निर्माण गर्नका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपनि प्राधिकणले कार्यान्वयन गर्न सम्भव नरहेको लिखित जवाफ नै पठाइसकेको छ ।

मन्त्री–महानिर्देशक विवाद मिलेको दाबी 

प्रधानमन्त्रीको समन्वयमा अधिकारीले स्पष्टिकरण बुझाएपछि मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवाद मिलेको स्रोतको दावी छ ।

मन्त्री र महानिर्देशकको विवाद मिलाउन प्रधानमन्त्रीले नै समन्वय गरिदिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

‘महानिर्देशकले स्पष्टिकरण बुझाएपछि तत्काललाई उहाँहरुबीचको विवाद मिलेको छनक हामीले पाएका छौं । राजनीतिक तहमै कुरा भएकाले यो विषय अब धेरै नखोतलिएला भन्ने लागेको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने ।

स्पष्टिकरण बुझाएको सन्दर्भमा बुझ्न महानिर्देशक अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको थियो ।

Share News