ऋणीलाई बैंकको तारन्तार फोन– असार २५ गते भित्रै किस्ता बुझाइसक्नु

<p>काठमाडौं । लगानीकर्ता अम्मर डंगोलले सधैं चौंथो त्रैमासको अन्तिम अर्थात असार मसान्तमा मात्रै ऋणको किस्ता बुझाउँदै आएका थिए । तर, यसपटक उनलाई बैंकले फोन गरेर किस्ता बुझाउने समय असार मसान्तमा नपुर्&#x200d;याउन भनिसकेको छ । अब उनले असार २५ गतेभित्रै ऋणको ब्याज तिनुपर्ने भएको छ । बैंकले यसरी फोन गर्दा उनी अचम्मित भएका छन् । अघिल्ला [&hellip;]</p>

काठमाडौं । लगानीकर्ता अम्मर डंगोलले सधैं चौंथो त्रैमासको अन्तिम अर्थात असार मसान्तमा मात्रै ऋणको किस्ता बुझाउँदै आएका थिए ।

तर, यसपटक उनलाई बैंकले फोन गरेर किस्ता बुझाउने समय असार मसान्तमा नपुर्‍याउन भनिसकेको छ । अब उनले असार २५ गतेभित्रै ऋणको ब्याज तिनुपर्ने भएको छ ।

बैंकले यसरी फोन गर्दा उनी अचम्मित भएका छन् । अघिल्ला वर्षमा असारको अन्तिम दिन ऋण बुझाउँदा पनि बैंकले केही गुनासो गर्दैनथ्यो ।

‘बैंकले फोन गरेर असार २५ गतेभित्र किस्ता तिर्नु भनेको छ । अघिल्ला वर्षहरुमा यसरी अगाडि नै किस्ता तिर्नु परेर फोन आउँदैनथ्यो । बैंकले फोनले मलाई दबाव महसुस भएको छ’, डंगोलले भने ।

यस्तै, एक सञ्चारमाध्यममा कार्यरत पत्रकारले पनि आफूलाई बैंकले फोन गरेर चाडैं किस्ता बुझाउन भनेको जानकारी दिए । बैंकबाट लिएको कर्जाको किस्ता निरन्तर बुझाइरहेको र असार मसान्तको किस्ताको लागि भने चाँडै तिर्नु परेर फोन आएको उनले बताए ।

बैंकले असारमसान्तको किस्ता चाँडै तिर्नु परेर ताकेता गर्दा अचम्म लागेको उनले बताए ।

‘मैले निरन्तर कर्जा तिरिरहेको छु । यसअघि असार मसान्तसम्म पनि तिर्दा बैंकले केही भनेको थिएन । तर, यसपटक भने असार २५ गतेभित्रै कर्जा तिर्नुस् है भनेर फोन गरेको छ,’ उनले भने ।

चालू आर्थिक वर्षको अन्त्य नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाले ऋणीहरुको फोनमा निरन्तर घण्टी बजाइरहेका छन् ।

बैंकले फोन गरेर निरन्तर ताकेता गरेपछि असल ऋणीहरुले पनि अप्ठ्यारो महसुस गरेका छन् ।

नबिल बैंकका नायव महाप्रबन्धक (डीजीएम) आदर्श बजगाईं कर्जा चुक्ता गर्न ऋणीहरुलाई ताकेता गर्नु बैंकको दायित्व भएको बताउँछन् । ऋणीहरुलाई निक्षेपकर्ताको बचत रकमबाट कर्जा दिएको हुँदा निक्षेप रकमको सुरक्षा गर्नका लागि पनि ताकेता गर्नुपर्ने बजगाईंको भनाई छ ।

‘ऋणीहरुलाई फोन गर्नै पर्‍याे नि । यो बैंकको कर्तव्य पनि हो । ऋणीले लगेको पैसा बैंक र बैंकरको होइन । सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न सकिएन भने गाह्रो हुन्छ,’ उनले भने, ‘ऋणीले लिएको पैसा नतिरेपछि निक्षेपकर्ताको रकम नै फिर्ता गर्न सकिँदैन । बैंकको विश्वास गुम्न नदिनका लागि समयमै कर्जा असुल गर्नुपर्ने हुन्छ ।’

असार मसान्तमा भने बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बन्द गरेर कर्जा असुलीमा बढी केन्द्रित हुन्छन् । बजगाईं भन्छन्, ‘असार मसान्तको बेला थप कर्जा नदिएर हाम्रो सबै प्रयास कर्जा असुलीमा हुन्छ ।’

ऋणको अवधि ९० दिन नकटेका ऋणीहरुलाई फोन नगरिएको उनले बताए ।

‘२-३ महिनासम्म किस्ता नतिर्ने ऋणीहरुलाई फोन गरेर दबाव दिइएको छैन । ९० दिन कटेपछि बैंकलाई पनि समस्या पर्छ । ९० दिन कटेपछि प्रोभिजनिङ्ग गर्नु पर्छ । निक्षेपकर्ताको पैसा नउठेपछि राष्ट्र बैंकले शतप्रतिशत प्रोभिजनिङ्ग गर भन्छ । अहिलेको अवस्था पनि कठिन नै छ । त्यसैले फोन त गर्नै पर्‍याे’, बजगाईंले भने ।

ऋणीलाई किस्ता तिर्ने योजना बनाउन प्रशस्त समय होस् भनेर पनि चाँडै फोन गरेर सम्झाउने गरिएको उनले बताए ।

‘सुरूबाटै ताकेता गरेन भने बैंकले छाडिहाल्छ नि भन्ने ऋणीलाई पछर्, त्यसैले बेलैमा ताकेता गर्नुपर्छ’, उनले भने । कतिपय ग्राहकहरुलाई बैंकको नियम थाहा नहुने भएकाले पनि समयमै सजग गराइने गरिएको उनले बताए । ‘कालोसूची, डाउनग्रेड हुने, प्रोभिजनिङ्ग गर्ने कुराहरु केही ऋणीहरुलाई थाहा हुँदैन । त्यसैले उहाँहरुलाई ताकेता गरिएको हो,’ उनले भने ।

साउन मसान्तसम्म असुली भएको ऋणलाई असारको किस्ता गणना गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने डङ्गोलको भनाई छ । त्यसो हुँदा बैंकले पनि ऋणीलाई फोन गरेर दबाब दिनु नपर्ने उनी बताउँछन् ।

अहिले अर्थतन्त्रको अवस्था सहज नभएकाले राष्ट्र बैंकले कर्जा असुलीको लागि केही समय थप गर्ने अपेक्षा गरिएको उनले बताए । ‘राष्ट्र बैंकले पहिला पनि १५ दिनजति समय दिन्थ्यो । यसपटक एक महिनासम्म समय दिन्छ की भन्ने आशा छ । एक महिना दियो भने धेरै सजिलो हुन्थ्यो । साउन मसान्तसम्मको समय दियो भने ऋणीहरुलाई पनि सहज हुने थियो’, बजगाईंले भने ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कर्जा तिर्नु पर्‍याे भनेर बैंकहरुले ताकेता गर्न पाउने बताउँछन् । ऋण लिएपछि समयमा तिर्नु ऋणीहरूको दायित्व भएको भट्टले बताए ।

‘किस्ता नतिरेका ऋणीहरूलाई समयमा किस्ता तिर्नुस् भनेर बैंकले ताकेता गर्न सक्छन् । समयमा किस्ता तिर्नु ऋणीको दायित्व पनि हो’, उनले भने, ‘पछिल्लो समय ऋण तिर्नु पर्दैन, नतिर्दा हुन्छ भन्ने सोच बढेको छ । अर्थतन्त्रमा सुस्तता देखिएकाले अप्ठ्यारो परेका ऋणी वा प्रभावित क्षेत्रलाई पुनसंरचना तथा पुनर्तालिकीकरण गर्न दिएका छौं ।’

साउनमा असुल भएको ब्याजलाई असारको हिसाबमा गणना गर्न पाउने समय थप बारे राष्ट्र बैंकले अहिल्यै कुनै निर्णय नगरेको भट्टले बताए ।

Share News