
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि भूमी बैंकको आवश्यकता रहेको बताएका हुन् ।
बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमी बैंकको आवश्यक रहेको ओलीको भनाई थियो । पहाडमा कृषि उत्पादन बढाउन भने सहकारीकै विधि उपयुक्त हुने तर्क गरे ।
‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीकोरुपमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढी उपयोगी हुन्छ । पहाड सहकार्य नै काफी हुन्छ’, ओलीले भने ।
नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकीर ओलीको थियो ।
त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिंचाईको प्रबन्ध गर्नुपर्ने उनले बताए ।