
काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
सांसद देवकाटाले आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्ब ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको तर्क गरेका थिए ।
कूल जिडिपीको ४२ प्रतिशत मुलुकको ऋणको भार देखिएको उल्लेख गर्दै त्यो राम्रो संकेत नभएको देवकोटाको भनाई छ । सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट बनाएको समेत बताए ।
‘आन्तरिक ऋण भुक्तानीमा १०५ प्रतिशतले वृद्धि भएको रहेछ । यो शीर्षकमा अघिल्लो पटक १३४ अर्बको बजेट थियो । अहिले २७५ अर्ब । यसमा बैदेशिक ऋण मात्रै जोड्ने हो भने पनि यो फिगर अझ धेरै माथि जान्छ’, देवकोटाले भने ।
‘यो तथ्यांकले हामी विस्तारै ऋणको पासोमा पस्दैछौं भन्ने त्यसले संकेत गर्याे । बजेटको डाटाले पनि त्यही भन्छ’, देवकोटाले भने, ‘आर्थिक सर्वेक्षणअनुसार हामीले तिर्नुपर्ने ऋण चाँही २१ खर्ब छ । हाम्रो ऋण चाँही कूल जिडीपीको ४२ प्रतिशत हुुँदो रहेछ । यो हामीले तिर्नुपर्ने ऋण दायित्व हो । यो त ऋण लिएर घिऊ खाएजस्तो अवस्था भयो ।’
सांसद देवकोटाले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको बताए ।