
काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मौद्रिक नीति लचिलो बनाउन सहयोग मागेको छ ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर अर्थतन्त्र सुधारका उपायका बारेमा छलफल गरेको सिएनआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओलीसँगको छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा आर्थिक मुद्धा बन्नुपर्ने बताए ।
अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनको जोड थियो । अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक बृद्धि हासिल गर्न एवं निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने अग्रवालले बताएको विज्ञप्तिमा उल्लेख छ ।
छलफलको क्रममा जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, भूतप्रभावी कर नीति हुन नहुने, ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुनेमा विषयले प्राथमिकता पाएको सिएनआइको विज्ञप्तिमा उल्लेख छ ।
एमाले अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका विषयमा आफूले सम्बन्धीत निकायमा कुरा राख्दै आएको बताएका थिए ।
प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार, विकासका लागि बोल्दै आएको ओलीले बताएको सिएनआइले उल्लेख गरेको छ ।
भेटमा निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी थिए ।