काठमाडौं । सत्तारुण दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बजेट पास गर्न ह्विप नै जारी गरेका छन् ।
दुबै राजनीतिक दलले मंगलबार सांसदलाई ह्विप नै जारी गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न निर्देशन जारी गरेको हो ।
बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/ ८१ को बजेट) निर्णयार्थ प्रस्तुत गर्ने तयारी सरकारको तयारी छ । सोही तयारी अनुसार दुबै राजनीतिक दलले आफ्दा सदस्यलाई अनिवार्य रुपमा बैठकमा उपस्थित हुने निर्देशन जारी गरेको हो ।
‘मिति २०८० असार १३ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तट्स्थ नरहन यो ह्विप जारी गरिएको छ,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, नेकपा माओवादी केन्द्रका मुख्य सचेत हितराज पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बुधबार आगामी आर्थिक वर्षको विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ, भोलिको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ ।’