काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय सच्याउन माग गर्दै संसद बैठक अवरोध गरेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अवरोध गरेको हो ।
बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजीएको भन्दै यस्तो नियन्त्रण कदापी स्वीकार्य नहुने बताए । उनले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरे । उनले निर्णय नसच्याएसम्म संसदको कारबाही अगाडी बढ्न नदिने बताए ।
‘लोकतन्त्रको लागि निर्वाचन असाध्यै महत्वपूर्ण छ, हाम्रो जस्तो हुर्कंदै गरेको लोकतन्त्रलाई यसरी विभिन्न नियम र विभिन्न सरकारको मनोमानीले लोकतन्त्रमाथि यो नियन्त्रण हामीलाई कदापी स्वीकार्य छैन, तसर्थ आज हामी सभामुखमार्फत यो संसदमा अर्थमन्त्रीले जुन निर्णय सरकारले गरेको छ, बजेटमा सरकारले जे ल्याएको छ, त्यो फिर्ता लेओस् र त्यो गल्तीलाई तत्काल स्वीकारोस्, अन्यथा हामी यो सदनको कारबाही अगाडी बढ्न नदिन बाध्य हुनेछौँ, म सभामुखलाई लोकतन्त्रमाथिको यो खतरा, व्यवस्था माथिको यो षड्यन्त्र र नयाँ राजनीतिक पार्टीहरु माथि बनिबनाउ रुपमा गरिएको यो षड्यन्त्रको घोर भत्र्सना गर्न र अर्थमन्त्रीलाई तत्काल रुलिङ गरेर यो फिर्ता लिइदिनु हुन अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
उनले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर व्यवस्था र नयाँ राजनीतिक पार्टीहरुमाथि षड्यन्त्र गरिएको बताए । उनले अर्थमन्त्रीलाई सो निर्णय फिर्ता लिन तत्काल रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे ।
प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।