
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बेलायतमा नर्स पठाउन यसै हप्ता सम्झौता गरिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तौ बताएका हुन् ।
श्रममन्त्री भण्डारीका अनुसार नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम सम्झौताअनुरूप बेलायतमा नेपाली नर्स तथा स्वास्थ्य क्षेत्रका अन्य जनशक्ति पठाउने सम्बन्धमा यसै हप्ता सम्झौता हुनेछ । छनोट प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
नयाँ श्रम गन्तव्यको खोजी, सम्झौता नवीकरणका साथै जर्मनी, रोमानिया, साउदी अरेबियालगायत मुलुकसँग छिट्टै श्रम सम्झौता गरिने मन्त्री भण्डारीले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई दिइँदै आएको दुईवर्षे श्रम स्वीकृति हटाई जति अवधिको श्रम सम्झौता छ सोहीअनुरूप स्वीकृति दिने र विदेशबाट श्रम स्वीकृति हुने व्यवस्था गरिएको जानकारी दिए ।
इपिएसमार्फत ९३ हजार नेपाली कोरिया पुगे
श्रममन्त्री भण्डारीका अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत हालसम्म ९३ हजार नेपाली कोरिया गएका छन् । हाल ४५ हजार नेपाली कोरियामा कार्यरत छन् । गत आर्थिक वर्ष मात्रै ५ हजार ९४१ जना कोरिया गएका थिए । चालु आवको जेठ मसान्तसम्म २० हजार १९२ जना कोरिया पुगेका छन् ।
सरकारी माध्यमबाट कोरिया पठाउने कार्य प्रभावकारी भइरहेको र कोरिया भाषा पास गरेका नेपालीलाई चाँडो गन्तव्यमा लैजान कोरियाका अधिकारीसँग समन्वय र छलफल भइरहेको उनले जानकारी दिए ।