काठमाडौं । शिव शिखर सहकारीको रकम ठगी गरी फरार रहेका केदारनाथ शर्मा न्यौपानो पक्राउ परेका छन् । सहकारीको १४ अर्ब रुपैयाँ ठगी गरेका केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका हुन् ।
उनी भारतको मुम्बईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेको सीआईबी स्रोतले बताएको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार पक्राउ गरी नेपाल ल्याएको छ ।
शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको आरोप छ । उनी विरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भएको छ भने अन्य जिल्लामा अनुसन्धान भइरहेको छ ।
बाँकेको कोलहपुर स्थायी घर भएका उनी सहकारीमा समस्या आएपछि भारतमा बस्दै आएका थिए । सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायतका ठाउँमा लगानी गरेको समेत अनुसन्धानमा खुलेको छ । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने भनाइ छ । न्
सहकारीको केन्द्रिय कार्यालय भक्तपुरमा छ भने ३५ जिल्लामा शाखा कार्यालय रहेको छ । शर्मा शिव शिखर सहकारीको पूर्व अध्यक्ष हुन् ।
यसअघि सीआईबीले शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई पक्राउ गरिसकेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पक्राउ गरेको हो । अहिले उनीहरु थुनामा छन् ।
केदार शर्मा फरार रहेका बेला श्रीमति गिता शर्मा सहकारी विभागमा पुगेर बचतकर्ताको पैसा फिर्ता गर्ने र आफ्नो श्रीमानलाई पनि सम्पर्कमा ल्याउने प्रतिवद्धता विभागसँग गरेकी थिइन् ।