काठमाडौं । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ ।
यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उनले बताए ।
बाढी, पहिरो, डुबानजस्ता प्रमुख विपद्का घटनासँगै मनसुनका समयमा फैलनसक्ने डेङ्गु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । मनसुनको सुरुआतमै नेपालको पूर्वी क्षेत्रका जिल्लमा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको छ । रासस