काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन) नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत गएका छन् । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै उनी बिहीबार अदालत गएका हुन् ।
प्राधिकरणले काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले गत जेठ ३२ मा काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो । त्यससँगै प्राधिकरणले महानगरसँग स्पष्टीकरण मागेको थियो । प्राधिकरणको उक्त स्पष्टीकरण संविधान अनुकूल नभएको भन्दै बालेन अदालत गएका श्रोतले बताएको छ ।
त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐन अनुसार किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो ।