काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश चन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौताअन्तर्गत नबिल इन्भेष्टमेण्टले कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गर्ने, कम्पनीलाई एक सूचिकृत कम्पनी बनाउने र आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भुमिका निर्वाह गर्ने छ । सार्वजनिक निष्कासनका लागि कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भैसकेको छ ।
श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडले विगत दुई दशक देखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्य गर्दै आएको छ । कृषि क्षेत्र मार्फत अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको यस श्रीनगर एग्राीटेक ईन्डष्ट्रीज लिमिटेडले हाल ३०० भन्दा बढी व्यक्तिहरूलाई रोजगार दिनुका साथै ५ हजारभन्दा बढी कृषकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडेको छ । फार्म, फिड तथा फुडको एकिकृत व्यापार विस्तार गर्दै आएको श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडको केन्द्रिय कार्यालय काठमाडौंको टङ्गालमा रहेको छ भने लुम्बिनी प्रदेशको पाल्पा तथा रुपन्देहीमा उद्योग अवस्थित रहेको छ । यस कम्पनिको उत्पादन हाल ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ ।
सम्झौतामा नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने समेत कम्पनीले जानकारी गराएको छ ।