काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको व्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले सो माग गरेका हुन् ।
मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक व्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो । बैंक व्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भिर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दावी समेत उनले गरे ।
‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौं, तर, कर्जा प्रवाह कम भईरहेको छ, यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन, र, दोस्रो हामीले थोरै व्याजदर बनाउन सकिरहेका छैनौं, यसमा माननीय अर्थमन्त्रीज्यू तपाईं सिरिएस हुनुस्, यदि तपाईंले बैंक ब्याँजदर घटाउन सक्नु भएन भने नेपालको फाईनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न, त्यसैले बैंक ब्याँजदर घटाउनुस्, यसमा पहल गर्नुस्, त्यसपछि कर्जा प्रवाहलाई वृद्धि गर्नू, यसो गर्न सकियो भने मुलुकको अर्थतन्त्रलाई हामीले राम्रो बनाउन सक्छौं,’ उनले भने ।
प्रमुख सचेतक चौधरीले युवाहरुलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए ।