काठमाडौं । सोमबारदेखि काठमाडौंमा हिन्दी चलचित्र प्रर्दशन गर्न नपाइने भएको छ । काठमाडौं महानगरका महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले जेठ ४ गतेदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने भएका हुन् ।
उनले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म कुनै पनि भारितीय फिल्म काठमाडौंमा नचलाउने अठोट लिएका छन् ।
उक्त चलचित्रको मूल भागबाट हटाउन काठमाडौं महानगरले भारतलाई ३ दिन पहिले आग्रह गरेको थियो । तर उक्त समायावधीसम्ममा नहटाएकोले मेयर बालेनले सबै भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाउने भएका हुन् ।
यस्तो छ मेयर बालेनको स्ट्याटस्
भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ ।
नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।