काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले कोभिड महामारीबाट भएको नोक्सानीको अपेक्षकृत रिकभरी हुन नसकेको बताएकी छिन् ।
मंगलबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औं सम्मेलनलाई नेपालको रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । श्रेष्ठले पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण नेपालको आर्थिक गतिविधि सुस्त भएको र अपेक्षाकृत अर्थतन्त्र विस्तार हुन नसकेको बताइन् ।
यद्यपी, विभिन्न चुनौतीहरुका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको उनले बताइन् ।
सभापति श्रेष्ठले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, काम गर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उनको भनाइ छ ।
१७६ भन्दा बढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जून ५ देखि शुरु भएको थियो भने सम्मेलन जुन १६ सम्म चल्ने छ ।
सम्मेलनमा महासंघको रोजगारदाता परिषद्का सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सिप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल,नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार अग्रवाल (टेमानी), महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले भाग लिइरहेका छन् ।