काठमाडौं । चालू आर्थिक वर्ष अन्त्यमा आइपुग्दा बैंकरहरु ऋण असुलीमा सक्रिय भएका छन् । चालू वर्षको विगत महिना बैंकिङ्ग क्षेत्रका लागि खासै उत्साहजनक नभएपनि असार मसान्तमा भने राम्रो गर्ने तयारीमा बैंकरहरु जुटेका हुन् । विगतमा बैंकिङ्ग क्षेत्रमा विभिन्न गतिविधिले गर्दा खासै उत्साहजनक हुन सकेको थिएन । तर, पछिल्लो समय ब्यापार व्यवसाय बढ्न थालेपछि भने मनोबल पनि बढेको बैंकरहरुको भनाइ छ ।
साथै, यतिबेला बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापकहरुले कर्मचारीको विभाग नै परिवर्तन गरेर रिकभरीमा जोड दिइरहेका छन् । पहिला निक्षेप संकलनमा खटिएका कर्मचारीलाई अहिले कर्जा प्रवाहमा जोड दिएको बैंकरहरुको भनाइ छ ।
एक बैंकरका अनुसार अहिले पनि बैंकिङ्ग क्षेत्र सुस्तरी चलिरहेको छ । उनका अनुसार तरलता र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज भएसँगै बैंकरहरुको मनोबल पनि बढेको छ । तर, ग्राहकहरुको मनोबलमा भने खासै उत्साह नछाएको उनको भनाइ छ ।
‘बैंकिङ्ग क्षेत्र सुस्तरी चलिरहेको छ, कर्जा प्रवाह उत्साहजन भएको छैन, अहिले बैंकरहरु रिकभरीमा नै लागेका छन्, रिकभरीका योजना बनाइरहेका छन्,’ उनले भने, ‘तरलता र सीडी रेसियो सहज भएकाले पहिला जस्तो सकस छैन तर, ग्राहकरुको मनोबल नबढेको हुँदा कर्जाको माग आएको छैन ।’
बैंकरहरुले रिकभरीमा जोड दिएको भएपनि विगत जस्तै रहेको उनको भनाइ छ । तर, पछिल्लो समय केही ठाउँमा कित्ताकाट खुलेका कारण रिकभरीमा केही सहज हुने उनको अपेक्षा छ । साथै, खराब कर्जा सामान्य बढ्ने उनले बताए ।
‘अहिलेसम्म हेर्दा गत क्वार्टरको तुलनामा खासै परिवर्तन भएको जस्तो देखिँदैन तर, घरजग्गा र कित्ताकाट खुला भएको र घरजग्गा क्षेत्रमा कारोबार बढेको हुँदा रिकभरीमा केही सहज हुने अपेक्षा छ,’ उनले भने, ‘विगतभन्दा केही राम्रो रिकभरी भयो भने बैंकको खराब कर्जा धेरै बढ्दैन होला, खराब कर्जा स्थीर रहन सक्छ, बढेपनि सामान्य बढ्ला ।’
पछिल्लो समय अन्य क्षेत्रमा पनि केही सकारात्मक संकेत आएको छ । अन्य क्षेत्र पनि चलायमान भइरहेको बैंकरहरु बताउँछन् । साथै बैंक तथा वित्तीय संस्थाको उच्च रहेको ब्याजदर पनि घट्दै एकल अंकमा झरेको छ । जसले बैंकिङ्ग क्षेत्रमा राहत पुग्ने उनको भनाइ छ ।
‘यो चक्र हो, एउटा सकस चक्रबाट विस्तारै सहज अवस्थामा पुगेका छौं, सधैं एउटै अवस्था रहँदैन, सीडी रेसियो सहज भएपछि अन्तर बैंकदर पनि घटेको छ,’ उनले भने ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढेको भएपनि कर्जा लगानी भने शून्य जस्तै छ । व्यवसाय वृद्धि नभएपछि पहिला भन्दा बैंकरहरु फुर्सदिला भएका छन् । बैंकरहरुका अनुसार कर्जा ग्रोथ हुन सकेको छैन । पहिला भन्दा अहिले कामको सकस कम भएको उनको भनाइ छ ।
‘कर्जा शुन्य जस्तै छ, पहिला कर्जा दिने कर्मचारी अहिले अहिले कर्जा उठाउनेमा लागेका छन्, साथै नयाँ आर्थिक वर्षमा के गर्ने भनेर योजना बनाइरहेका छन्, गत वर्ष निक्षेप संकलन गर्न खटाइएका कर्मचारीलाई अहिले कर्जा प्रवाहमा जोड दिइरहेका छन्,’ उनले भने ।
महालक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटा बैंकरहरु पैसा उठाउनमा व्यस्त रहेको बताउँछन् । उनका अनुसार असारको चटारो लागेकाले अधिकांश बैंकरहरु रिकभरीमा जोड दिइरहेका छन् । तेस्रो त्रैमासको जस्तो बैंकहरुको खराब कर्जा खासै नबढ्ने उनको भनाइ छ । असार मसान्तसमा बैंकहरुको खराब कर्जा ५ प्रतिशत पुग्ने भनेर चर्चा गरेपनि त्यति धेरै नबढ्ने उनले बताए ।
‘अहिले बैंकरहरु रिकभरीमा लागेका छन्, बैंकरहरुलाई असारको चटारो लागेको छ, असार मसान्त भएकाले बैंकहरुलाई गाह्रो नै छ, एनपीएल त्यति धेरै बढ्न सक्दैन तर, कतिपय केसमा बढ्न सक्ने देखिन्छ, राष्ट्र बैंकले पनि खराब कर्जा बढ्छ भनेर सतर्क रहन भन्दै आएकाले अहिले सतर्क हुनु परेको छ,’ उनले भने, ‘तर, त्यति धेरै बढ्दैन, सकस पूर्ण अवस्था अहिले पनि कायमै छ ।’
उनले अहिले कर्जाको माग खासै नभएपनि स-सानो कर्जा भने गइरहेको बताए । कर्जा दिने मान्छेको मनोबल बढेको भएपनि लिने मान्छेको मनोबल भने बढ्न नसकेको उनको भनाइ छ ।
‘जस्तो माग आयो त्यस्तै कर्जा दिएका छैनौं, दिने मान्छेहरुमा कन्फिडेन्स बढेको भएपनि लिने मान्छेको बढेको छैन, अहिलेको अवस्थामा कर्जा लिएर कमाएर तिर्छु भन्ने स्थिती पनि छैन,’ उनले भने, ‘धेरै होसियार भएर काम गर्नु परेको छ, व्यवसाय गर्नकै लागि भएपनि कर्जा दिनु पर्ने स्थिती बैंकरलाई छैन, ग्राहकहरु पनि उत्तिकै होसियार छन्, उहाँहरु पनि कर्जा लिएर कहाँ लगानी गर्ने, कसरी लगानी गर्ने भनेर सोच्दै छन्, सबै जना पर्ख र हेरको अवस्थामा छन् ।’
निक्षेप संकलन बढ्दै गएपछि बैंकहरुले एक आपसमा लिने कर्जा कारोबारको अन्तर बैंक ब्याजदर ६.१८ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ५५ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुसँग ४८ खर्ब ८५ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले ४२ खर्ब ९८ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको भनाइ छ । तरलता सहज हुँदै गएपछि सीडी रेसियो ८४.४० प्रतिशत रहेको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधकृत (सीईओ) सुनिल केसी बैंकहरुसँग प्रयाप्त मात्रामा तरलता भएकाले बैंकको ब्याजदर नबढ्ने बताउँछन् । साथै, निक्षेप संकलन प्रत्येक महिना बढेको भएपनि कर्जाको माग भने नगण्य रहेको उनको भनाइ छ ।
‘तत्काल बैंकको ब्याज बढ्दैन, सीडी रेसियो ८४ प्रतिशतमा झरेको छ, पहिला जस्तो बजारमा तरलता अभाव छैन, बैंकहरुसँग प्रयाप्त तरलता छ,’ उनले भने, ‘चालू आर्थिक वर्षको हालसम्म १२८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ, पछिल्ला महिनाहरुमा झनै कर्जाको माग कम भएको छ भने निक्षेप बढ्दै गएको छ, बैशाख र जेठमा मात्रै ४७ अर्ब निक्षेप संकलन भएको छ, बैंकहरु कम्फर्टेबल अवस्थामा छन् ।’
उनका अनुसार बैंकहरुलाई रिकभरीमा भने सकस अवस्था रहेको छ । सहज रुपमा रिकभरी हुन नसकेको उनको भनाइ छ ।
‘ब्यापार व्यवसाय राम्रोसँग उठ्न सकेको छैन, एनपीएल धेरै त बढ्दैन तर दबावमै छन्, ५ प्रतिशत पुग्ने अनुमान गरिएको भएपनि त्यति धेरै पुग्दैन,’ उनले भने, ‘माग गरेको कर्जा बैंकहरुले दिइरहेका छन्, नयाँ कर्जाको माग आएकै छैन, जस्तो पायो त्यस्तै कर्जा दिन थाल्यो भने बैंक खत्तम हुन्छन् तर, फरक फरक सेग्मेन्टमा एग्रेसन चाहि कम भएको छ ।’