कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने, यसरी खोल्नुस् नयाँ कम्पनी

<p>काठमाडौं । अब न्यूनतम एक सय रुपैयाँमा नै नयाँ कम्पनी दर्ता गर्न मिल्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षकोे बजेट सार्वजनिक गर्दै न्यूनतम एक सय रुपैयाँ पुँजी राखेर नयाँ कम्पनी दर्ता गर्न मिल्ने व्यवस्था गरेसँगै यो प्रक्रिया अगाडि बढ्ने भएको हो । सरकारले उक्त व्यवस्था सार्वजनिक गरेसँगै अनुसन्धान मुलक कम्पनीहरुलाई सहयोग पुग्ने कम्पनी रजिष्ट्रार [&hellip;]</p>

काठमाडौं । अब न्यूनतम एक सय रुपैयाँमा नै नयाँ कम्पनी दर्ता गर्न मिल्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षकोे बजेट सार्वजनिक गर्दै न्यूनतम एक सय रुपैयाँ पुँजी राखेर नयाँ कम्पनी दर्ता गर्न मिल्ने व्यवस्था गरेसँगै यो प्रक्रिया अगाडि बढ्ने भएको हो ।

सरकारले उक्त व्यवस्था सार्वजनिक गरेसँगै अनुसन्धान मुलक कम्पनीहरुलाई सहयोग पुग्ने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ’, अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा भनिएको छ, ‘न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरिनेछ, अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ ।’

कम्पनी रजिष्ट्रार महेश बराल उक्त व्यवस्था हालको कम्पनी ऐनमा नै रहेको बताउँछन् । ‘एक सय रुपैयाँ पुँजी राखेर अहिले पनि कम्पनी खोल्न मिल्छ, त्यसलाई रोकिएको छैन्, एक लाख रुपैयाँसम्म पुँजी राखेर कम्पनी दर्ता गर्न एक हजार रुपैयाँ शुल्क लाग्छ भन्नेछ, यसको अर्थ एक सय रुपैयाँ पुँजी राख्दा पनि एक हजार नै हुन्छ’, उनले भने

कसलाई फाइदा ?

सरकारले न्यूनतम एक सय रुपैयाँ पुँजीमै कम्पनी खोल्ने व्यवस्थाको फाइदा अन्वेषण (नवप्रर्वतन) तथा सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न चाहनेका लागि हुनेछ ।

कम्पनी रजिष्ट्रार बराल काम गर्दै कम्पनी खोल्ने भन्नेहरुका लागि सो व्यवस्था आकर्षित हुने बताउँछन् । ‘अहिले नेपालमा नै काम (जागिर गरिरहेका) युवाहरुले थोरै लगानीमा साइट जवका रुपमा छुट्टै कम्पनी दर्ता गरेर काम गर्राे भन्नेहरुका लागि यो व्यवस्था ल्याइएको हो’, उनले भने, ‘पछि उक्त योजनाले काम गर्याे भनेर पुँजी थप गरेर सरकारलाई कर बुझाउने, इनोभेटिभ खासै केही काम गर्न सकेन भने त्यतिकै कम्पनी खारेज गर्ने भनेर सो व्यवस्था ल्याइएको हो ।’

उनले सरकारले युवालाई जानकारी गराउने उद्धेश्यले बजेटमा सो कुरा राखिएको बताए । ‘अहिले युवाहरुलाई प्रोत्साहन गर्न एक सय रुपैयाँ पुँजी राखेर पनि कम्पनी खोल्ने व्यवस्था ल्याइएको हो, यसअघि सो व्यवस्था भएपनि धेरैलाई जानकारी थिएन, जानकारी गराउनैका लागि बजेटमा नै सो कुरा ल्याईएको हो’, उनले भने, ‘एक सय रुपैयाँ पुँजीमा नै कम्पनी दर्ता हुन्छ भन्दा धेरैले चासो देखाएका छन् ।’

‘अमेरिका लगायतका देशहरुमा गएका युवाहरु आकर्षिक गर्न एक डलरमै कम्पनी खोल्न दिने व्यवस्था छ, सोही व्यवस्थाको बारेमा जानकारी गराउने उद्धेश्यका साथ बजेटमा समावेश गरिएको हो’, उनले भने ।

कम्पनी दर्ता र पुँजी बृद्धि गर्दा छुट

सरकारले बजेट मार्फत् नै नयाँ कम्पनी दर्ता तथा पुँजी बृद्धिका लागि लाग्दै आएको शुल्कमा समेत छुट दिएको छ । हाल १ लाख रुपैयाँसम्म अधिकृत पूँजी भएको कम्पनीका दर्ताका लागि १ हजार रुपैयाँ शुल्क लाग्ने गरेको थियो । यस्तै, १ लाखदेखि ५ लाखसम्म अधिकृत पूँजी भएको कम्पनीका लागि ४ हजार ५ सय, ५ लाखदेखि २५ लाख रुपैयाँसम्म पूँजी भएको कम्पनीका लागि ९ हजार ५ सय, २५ लाखदेखि १ करोड रुपैयाँसम्म पूँजी भएको कम्पनीका लागि १६ हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

अब साउन १ गतेदेखि नयाँ कम्पनी दर्ता र पुँजी बृद्धिका लागि कुनै शुल्क नलाग्ने भन्दै कम्पनी रजिष्ट्रार बराल युवाहरुलाई उद्योग खोल्न प्रोत्साहन हुने बताउँछन् ।

पूर्व सचिव रामेश्वर खनाल व्यवसाय शुरु गर्ने सोच बनाउँदा मात्र सरकारलाई शुल्क बुझाउनुपर्ने युगको अन्त्य भएको बताउँछन् । सरकारले बजेट सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जाल मार्फत सो कुरा उल्लेख गरेका हुन ।

‘व्यवसाय शुरू गर्ने सोच बनाउदा मात्र पनि सरकारलाई शुल्क बुझाउनु पर्ने युग अन्त्यको घोषणा भयो, तर कार्यान्वयन गर्न कम्पनी ऐनको दफा ५ संशोधन र त्यस अन्तर्गत तोकिएका शुल्कका दर खारेज गर्नुपर्ने हुन्छ, लागु नभई घोषणा निष्कृय हुने डर छ ।’

यसअघि कम्पनी दर्ताका लागि काठमाडौंमै आउनुपर्ने बाध्यता रहेकोमा सरकारले दुई स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंको त्रिपुरेश्वरमा केन्द्रीय कार्यायले रहेकोमा पछिल्लो समय बुटवल र इटहरीमा शाखा कार्यालय सञ्चालनमा ल्याईएको हो ।

व्यक्ति आफै कम्पनीमा आएर तथा अनलाईन मार्फत कम्पनी दर्ता गर्ने व्यवस्था रहेको छ । कम्पनी दर्ताका लागि कम्पनीको प्रबन्धपत्र, नियमावली, कम्पनी दर्ता गर्नेको नागरिकता आवश्यक पर्छ । अनलानईन मार्फत कम्पनी दर्ताका लागि निवेदन दिएको एक साताभित्र कम्पनी दर्ता हुनेछ ।

Share News