काठमाडौं । सरकारले आलु प्याजमा १३ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेपछि बजारमा प्याजको मूल्य आकाशिएकोे छ । भन्सार बिन्दुमै भ्याट लागू भएपछि त्यसकोे असर उपभोक्ता बजारमा परेको हो ।
भारतबाट प्याज आयात गर्ने व्यवसायीहरुले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै एक सातादेखि आलु तथा प्याजको आयात बन्द नै गरेका छन् । त्यसको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य आकाशिएको हो ।
सरकारी स्वामित्वमा सञ्चालित कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिले पछिल्लो एक सातादेखि दैनिक मूल्य सूचीमा प्याज समावेश गरेको छैन ।
तथ्यांक अनुसार बजेट सार्वजनिक भएको जेठ १५ गते कालीमाटीमा औषत ३४ रुपैयाँ प्रतिकिलो मूल्य रहेको प्याज त्यसको एक साता अर्थात जेठ २२ गते प्रतिकिलो ५९ रुपैयाँ पुगेको थियो ।
बजेट सार्वजनिक भएको एक सातामा ७० प्रतिशतभन्दा बढी मूल्य बढेको प्याज व्यवसायीहरुले जेठ २२ गतेदेखि नै आयातमा रोक लगाएका छन् । कालीमाटी तरकारी बजारको जेठ २२ गतेको तथ्यांक अनुसार प्याजको मूल्य न्यूनतम ५८, अधिकतम ६० र औसतमा ५९.२० रुपैयाँ तोकिएको थियाे । व्यवसायीहरुले आयातमा रोक लगाएपनि बजारमा छ्याप्छ्याती रुपमा प्याजको खरिद बिक्री भैरहेको छ ।
किराना पसलहरुमा अहिले प्रतिकिलो १२० रुपैयाँभन्दा बढीमा प्याजको खरिकबिक्री भैरहेको छ । १३ प्रतिशत भ्याटलाई देखाउँदै अहिले बजारमा प्याजको कालोबजारी सुरु भैसकेको आलु प्याज आयात तथा निर्यात व्यवसायीहरु नै बताउँछन् । संघले आलु तथा प्याज आयात औपचारिक रुपमा बन्दको घोषणा नगरेतापनि भ्याटकै कारण व्यवसायहरुले आयात नगरेको जनाएको छ ।
आयातको तथ्यांक हेरेर राजश्व उठाउन भ्याट लगाइयो
नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँ सरकारले राजश्व संकलनकै लागि आलु तथा प्याजमा भ्याट लगाएकाे बताउँछन् ।
‘वार्षिक अर्बौ रुपैयाँको आलु, प्याज भारतबाट आयात भइरहेकाे छ, ठूलो रकममा उक्त वस्तु भित्रिएपछि राजश्व उठाउनकै लागि भ्याट लागू गरियो’, उनले भने, ‘सामान्य अध्ययन नै नगरी राजश्वमा मात्रै सरकार केन्द्रित हुँदा उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था आइसक्यो ।’
दैनिक बजार गएर कारोबार गर्नुपर्ने व्यवसायी अहिले व्यवसाय बचाइदिनुस् भन्दै प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसँग हारगुहार गर्नुपर्ने अवस्था आएको बताए ।
आलु प्याज व्यवसायमा परम्परागत रुपमा व्यक्तिगत लेखा नम्बरमा आधारित भएर कारोबार गरिरहेकामा एकाएक आएको भ्याटको प्रावधानले आयातमा समस्या सृजना भएको उनको भनाइ छ ।
संघका महासचिव प्रकाश गजुरेल भ्याटका दरमा दुविधा भएपछि आयात नभएको बताउँछन् । ‘बजेटमा आलु तथा प्याजमा १३ प्रतिशत भ्याट लागुगर्ने घोषणा भयो, सोही घोषणा अनुसार भन्सार विन्दुमै भ्याट लाग्छ’, उनले भने, ‘दैनिक उपभोग्य वस्तुमा भ्याट लाग्नुभनेको उपभोक्ताको भान्छामा महंगी बढ्नु हो, सरकारलाई दबाब दिन हामीले आयात नै रोकेका हौँ ।’
उनले अहिले अधिकांश व्यवसायीहरु भ्याटमा दर्ता नै नभएको समयमा भ्याट लागुहुँदा व्यवसायी मारमा परेको बताए ।
उनले देशमा महंगी बढीरहेको बेलामा आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लाग्दा सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्ने कठिन भएको जिकिर गरे ।
हाल आयातकर्ता व्यवसायीहरुले आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको भन्दै उनले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढेको बताए ।
उनले सरकारका कारण आलु प्याजको बजार एक तिहाईले महंगो हुने दाबी गरे ।
बजारमा आलु प्याज अभावमा आफूहरुलाई दोष थोपरिएको भन्दै उनले त्यसको खण्डन पनि गरे ।
हामी हेरिरहेका छौँ : विभाग
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा प्याजको कालोबजारीका विषयमा जानकार रहेको बताएको छ । बजेट सार्वजनिक पश्चात् आलु प्याज व्यवसायीहरुले आयात गर्ने छोडेको भन्दै विभागले कालोबजारी हुनसक्ने भन्दै दैनिक बजार अनुगमन गरिरहेको उल्लेख गरेको छ ।
विभागका प्रवक्ता होमनाथ लुइटेल बजार अनुगमनका क्रममा अनुचित कारोबार भएको फेला नपरेको बताउँछन् । ‘बजेट पश्चात बजारमा प्याजको मूल्य बढेको हामीलाई धेरै गुनासो आउन थालेको छ, हामीले नियमित रुपमा अनुगमन गरिरहेका छौँ, हाम्रो अनुगमनमा अहिलेसम्म कालोबजारी भएको भेटिएको छैन्’, उनले भने ।
चाटर्ड एकाउन्टेन ध्रुव अधिकारी सरकारले बिना अध्ययन आलु प्याजमा भ्याट लागु गर्नु गलत भएको बताउँछन् । ‘आलु, प्याजमा भ्याट लागु गर्नुको असर सिधै आम उपभोक्ताको भान्छामा पुग्छ, सरकारले भन्सार विन्दुमै भ्याट लागुगर्ने भनेको छ, त्यसको असर गाउँ-गाउँमा रहेका आम किसानलाई समेत पर्ने देखियो’, उनले भने ।
उनले भारतको महाराष्ट्रको नासिकमा प्रतिकिलो भारु ४ मा खरिद गरिएको प्याजको भन्सार समर्थन मूल्य २५ रुपैयाँ रहेको बताए । ‘भन्सारमा २५ रुपैयाँ किलोमा भित्रिएको प्याज बजेट अगाडी ३५ देखि ४० रुपैयाँको हाराहारिमा थियो, उनले भने, तर बजेट लगतै दोब्बर बढ्यो, भ्याटलाई देखाएर बिचौलियाको हाबी बढ्यो ।’
अर्थमन्त्री भन्छन् : स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भ्याट
अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न दैनिक उपभोग्य वस्तुको आयातमा मूल्य अभिबृद्धि कर (भ्याट) लागू गरिएको बताएका छन् । गत जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा प्रतिनिधि सभाका सांसदहरुले राखेको जिज्ञाशाको सोमबार जवाफ दिँदै उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारले यस्तो निर्णय लिएको बताएका हुन् ।
‘दैनिक उपभोग्य वस्तुमा कर लागेको कुरा माननिय ज्यूहरुले उठाउनु भएकोे छ, यहाँहरुको चासो चिन्ता, जिज्ञासा स्वभाविक हो’, उनले भने, ‘आन्तरिक उत्पादन कर्तालाई संरक्षण गर्न आयातमा भ्याट लगाईएको हौँ, यहाँ उत्पादन नहुने वस्तुहरुको आयात कम छ, तर हाम्रो मै उत्पादन हुने दैनिक उपभोग्य वस्तुहरु धेरै आयात भएको देखेर आयातलाई निरुत्साहीन गर्न भ्याट लगाएको हुँ ।’
सरकारले राजश्व संकलनकै लागि दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएको भन्दै पछिल्लो समय अर्थमन्त्री महतको विरोध हुँदै आएको छ ।