बैंकको ऋणपत्र पौने २ खर्ब पुग्यो, निक्षेपमा गणना गर्न पाउने व्यवस्थाले सीडी रेसियोमा सहज

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र मार्फत् पौन २ खर्ब रुपैयाँ पूँजी बजारबाट संकलन गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार २८ वटा बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्री गरेर बजारबाट १ खर्ब ७१ अर्ब रुपैयाँ संकलन गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा तरलता अभाव र पूँजी कोष टाइट भएको अवस्थामा बैंकहरुले ऋणपत्र जारी गरेर समस्या [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र मार्फत् पौन २ खर्ब रुपैयाँ पूँजी बजारबाट संकलन गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार २८ वटा बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्री गरेर बजारबाट १ खर्ब ७१ अर्ब रुपैयाँ संकलन गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा तरलता अभाव र पूँजी कोष टाइट भएको अवस्थामा बैंकहरुले ऋणपत्र जारी गरेर समस्या समाधान गर्ने गरेका छन् ।

बैंकहरुले ऋणपत्र जारी गर्दा ऋणपत्र खरिद गर्ने लगानीकर्ताहरु र स्वयम् बैंकलाई पनि फाइदा हुने गरेको बैंकरहरु बताउँछन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ निक्षेपमा गणना गर्न पाउने भएकाले ऋणपत्र बैंकहरुका लागि फाइदाजनक औजार भएको बताउँछन् । बैंकहरुले ऋणपत्र जारी गर्दा तरलता अभाव भएको बेलामा निक्षेपमा गणना गर्न पाइने उनको भनाइ छ ।

‘बैंकहरुले दुई वटा प्रयोजनका लागि ऋणपत्र इस्यू गर्छन्, प्रत्येक वर्ष रिजर्भ छुट्याउँदै लैजान सकिन्छ, बैंकहरुको क्यापिटल रिजर्भका लागि प्रयोग गर्न सकिन्छ, साथै यसलाई निक्षेप प्रयोजनका लागि गणना गर्न पाइन्छ,’ उनले भने, ‘अहिले ऋणपत्र पनि निक्षेपमा गणना गर्न पाउँदा सीडी रेसियो सहज भएको छ ।’

यसअघि राष्ट्र बैंकले २५ प्रतिशत ऋणपत्र बिक्री गर्नै पर्ने भनेर व्यवस्था गरेको थियो । तर अहिले त्यो लागू छैन । त्यो बाध्यकारी व्यवस्था नभएपनि बैंकहरुले स्वतः आफै बिक्री गरिरहेका छन् । बैंकको क्यापिटल वेद्धि गर्नका लागि ऋणपत्र जारी गर्नु बाहेक अरु विकल्प नरहेको सीईओ खालिङले बताए ।

‘अहिले पनि बैंकहरुले ऋणपत्र जारी गरिरहेका छन्, आफ्नो क्यापिटल बढाउनका लागि ऋणपत्र बाहेक अरु विकल्प नै छैन, बैंकहरुलाई हकप्रद सेयर जारी गर्न दिएको छैन, बैंकको ब्यापार व्यवसाय गर्नका लागि असहज भयो, क्यापिटल पुगेन भने ऋणपत्र बाहेक अन्य विकल्प छैन,’ उनले भने, ‘अन्य कुनै औजार प्रयोग गर्न दिएको अवस्थामा मात्रै ऋणपत्र नगरे पनि हुन्छ, बैंकलाई ऋणपत्र जारी गर्दा फाइदा नै हुन्छ, फाइदाका लागि भन्दा पनि आवश्यकता परेपछि ऋणपत्र जारी गर्नै पर्छ, आवश्यक परेको बेलामा बैंकहरुले ऋणपत्रलाई औजारको रुपमा लिन्नन् ।’

बैंक तथा वित्तीय संस्थाहरुले लामो सयम तरलता अभाव खेप्नु परेको बेलामा जारी गरेको ऋणपत्रले केही राहत पुगेको छ । राष्ट्र बैंकको हालको व्यवस्था अनुसार बैंकहरुले ऋणपत्रलाई पूँजी र निक्षेप दुवैमा गणना गर्न पाउँछन् । तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ७१ अर्ब ४३ करोड ३८ लाख रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको ऋणपत्र तथा बण्ड जारी गरेका छन् । यस्तै, विकास बैंकहरुले ७ अर्ब ५० करोड रुपैयाँ, फाइनान्स कम्पनीको ९५ करोड रुपैयाँ र इन्भेष्टमेन्ट कम्पनीले २ अर्ब २८ करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन् ।

तथ्याङ्क अनुसार ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ऋणपत्र जारी गरेको छ । यस बैंकले हालसम्म ६ वटा ऋणपत्र जारी गरेवापत १८ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र तथा बण्ड सञ्चालनमा छन् । जसमा साविक बैंक अफ काठमाण्डूको पनि ऋणपत्र समावेश गरिएको छ ।

यस्तै, कृषि विकास बैंकका हालसम्म १७ अर्ब ९२ करोड रुपैयाँका ४ वटा ऋणपत्र तथा बण्ड सञ्चालनमा छन् । यस्तै, एनआईसी एशिया बैंकका १२ अर्ब १७ करोड रुपैयाँका ५ वटा ऋणपत्र, एनएमबि बैंकले ११ अर्ब ९१ करोड रुपैयाँका ५ वटा ऋणपत्र, सिद्धार्थ बैंकका ११ अर्ब ६६ करोड रुपैयाँका ४ वटा ऋणपत्र, प्राइम कमर्सियल बैंकका १० अर्ब २४ करोड रुपैयाँका ३ वटा ऋणपत्र, सानिमा बैकका ९ अर्ब ४० करोड रुपैयाँका ३ वटा र प्रभु बैंकका ९ अर्ब २० करोड रुपैयाँका ४ वटा ऋणपत्र तथा बण्ड जारी गरेका छन् ।

यस्तै, कुमारी बैंकले ९ अर्ब रुपैयाँका ३ वटा, नबिल बैंकले ६ अर्ब २० करोड रुपैयाँका ३ वटा, माछापुच्छ्रे बैंकले ६ अर्ब रुपैयाँका २ वटा ऋणपत्र, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब रुपैयाँका २ वटा, हिमालयन बैंकले ५ अर्ब ८१ करोड रुपैयाँका ३ वटा, नेपाल एसबिआई बैंकले ४ अर्ब ४३ करोड रुपैयाँका २ वटा, लक्ष्मी बैंक र सनराइज बैंकले ४/४ अर्ब रुपैयाँका २/२ वटा ऋणपत्र, एभरेष्ट बैंकले ३ अर्ब ६० करोड रुपैयाँका ३ वटा, नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ र स्टयाण्डर्ड चार्टर्ड बैंकको २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र तथा बण्ड जारी गरेका छन् ।

साथै, नेपाल पुर्वाधार विकास बैंकले २ अर्ब २८ करोड ९८ लाख रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ, मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ, गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ, कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ, लम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ र महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेका छन् ।

यस्तै, मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँ, गुडविल फाइनान्सले २५ करोड रुपैयाँ र आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन् ।

Share News