संसदमा सांसद : हाजिर गर्छन्, टाप कस्छन्

<p>काठमाडौं । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठकमा आइतबारदेखि सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । आइतबारदेखि सांसदहरुले नीति तथा कार्यक्रममा समावेश गरिएका शिर्षकमा प्रतिक्रिया तथा सुझावहरु राख्ने क्रम मंगलबार पनि जारी छ । सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफल कार्यक्रम साँझ ७ बजेसम्म जारी [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठकमा आइतबारदेखि सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

आइतबारदेखि सांसदहरुले नीति तथा कार्यक्रममा समावेश गरिएका शिर्षकमा प्रतिक्रिया तथा सुझावहरु राख्ने क्रम मंगलबार पनि जारी छ ।
सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफल कार्यक्रम साँझ ७ बजेसम्म जारी रहेको थियो । संसद् सचिवालयका अनुसार सोमबार २२६ जना सांसदले हाजिर गरेका थिए ।

बैठकको सुरुवाती चरणमा सांसदहरुको उपस्थिति राम्रै रहेतापनि अन्तिममा ३२ जनामात्रै सांसद थिए । संसद सचिवालयका अनुसार सबैभन्दा ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेसबाट ९, नेकपा एमालेबाट ७, रास्वपाका ६, एकीकृत समाजवादीका १ जना मात्रै सांसद अन्तिमसम्म रहेका थिए ।

यस्तै, अन्य सांसद २ र २ जना मन्त्री गरी २२६ जना सांसदले हाजिर गरेको बैठकको अन्तिममा ३२ जनाको मात्रै उपस्थिति रहेको थियो ।
सांसदहरु हाजिर गर्ने, आफ्ना कुरा राख्ने र निस्कने क्रम बढ्दा बजेटमाथिको छलफल प्रभावकारी नभएको सांसदहरुले नै बताउँदै आएका छन् ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले आईतबार प्रतिनिधि सभामा २२९ जना र राष्ट्रिय सभाको बैठकमा ४७ जना सांसदले हाजिर गरेकाे बताए । सासंदहरुको प्रवेशको मात्रै हाजिरी हुने बताउँदै को कतिप खेर बाहिरिए भन्ने तथ्यांक सचिवालयसँग हुने बताए ।

राष्ट्रियसभा अध्यक्ष भन्छन् : छलफल कर्मकाण्डी

सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा हुने छलफल कर्मकाण्डी भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नै बताउँछन् । उनले सार्वजनिक कार्यक्रममा नै बजेट लेखिसकेपछि प्रि–बजेटका नामाम हुने छलफलको कुनै औचित्य नभएको बताएका छन् । मंगलवार काठमाडौंमा स्पिकर फोरम र एमसीडीएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसमा उनले प्रि–बजेट छलफलको औचित्य नभएको बताएका हुन् ।

बजेट ल्याउनु १५ दिनअघि प्रि–बजेट छलफल गराएर समस्याको समाधान नहुने उनको तर्क छ । सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सदनको खाली कुर्सीहरुलाई हेर्दा आफूपनि रोष्टममा आएर बोलिरहनु रोष्टमकै अपमान गरेजस्तो लागेको बताएका थिए ।

‘सरकारले आगामी आर्थिक वर्ष २०८०/८० का लागि प्रस्तुत गरेको गरेको नीति तथा कार्यक्रम माथि आफ्नो केही प्रतिक्रिया तथा सुझावहरु लिएर आएको छु, सदनको खाली कुर्सीहरुलाई हेर्दा आफूपनि रोष्टममा आएर बोलिरहनु रोष्टमकै अपमान गरेजस्तो लाग्छ कहिलेकाहीँ’, उनले भनेका थिए, ‘घरमै बसेर ऐनामा हेर्दाै बोलेर पेन ड्राइभमा बोलेर रेकड गरेर सचिवालयमा बुझाए हुने हो कि भन्नेजस्तो लाग्छ, २७५ जनाबीच हुने र शुन्य र सुनाउने नीति तथा कार्यक्रममाथिको छलफल केबल रेकर्डका लागि मात्र बोलिरहेको जस्तो लाग्छ ।’

उनले सभामुखलाई सम्बोधन गर्दै यस्तो नहुने वातावरण बनाउन आग्रह गरेका थिए ।

रास्वपाले सोमबार संसदमा आफ्ना सांसदको न्यून उपस्थिति रहेकोमा माफि समेत मागेको छ । सोमबारको सम्बोधनमा उपसभापति अर्यालले सांसद नहुँदा रोष्टमकै बेइजत भनिरहँदा रास्वपाकै सांसदको उपस्थिति न्यून रहेको थियो ।

‘रास्वपाका २१ जनामध्ये जम्मा ६ जना सांसदको मात्रै उपस्थिति भएको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं र यसका लागि आम जनसमुदायसँग क्षमा पनि माग्न चाहन्छौं, आगामी दिनमा यस्तो हुन नदिन हामी पार्टीभित्रै विधि र पद्धति विकास गर्न लागिपरेको व्यहोरा सम्बन्धित सबैमा अवगत समेत गराउन चाहन्छौँ, रास्वपाले सामाजिक सञ्जाल मार्फत माफि मागेको छ ।

यसअघि गणपुरक संख्या नपुगेको भन्दै प्रतिनिधि सभाको बैठक पटक/पटक स्थगित हुने गरेको छ । सांसदको न्यून उपस्थिति हुने गरेको भन्दै अधिकांश दलका सांसदहरुले संसद बैठक सकिएपछि पनि हाजिरीको व्यवस्था हुनुपर्ने माग समेत राख्दै आएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरु हाजिर गरेर घर जाने गरेको भन्दै विद्युतीय हाजिरीको प्रबन्धन गर्नुपर्ने माग उठेपछि विद्युतीय हाजिरी गर्ने सुरुवात गरिएको छ ।

सोमबार प्रतिनिधिसभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि वायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराएर विद्युतीय हाजिरी सुरु गरिएको हो ।

संसद सचिवालयका अनुसार सबै सांसदहरुको वायोमेट्रिक विवरण संकलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुनेछ ।

हालसम्म सांसदहरुले लिखित रुपमा हाजिर गर्दै आएका थिए । यसपटक प्रतिनिधिसभाले आप्नो नियमावलीमा पनि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ ।

Share News