काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ ।
आज अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि आजै साँझ ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भने त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रावधान छ ।
आज पेस गरिने सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ ।