काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालू खर्च कटौति गर्नुको विकल्प नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै अहिलेको अवस्था धेरै उत्साहित भएर बजेट बाँड्न सक्ने स्थिति नभएको धारणा राखे ।
‘अहिले राजनीतिक पार्टीहरुले एक अर्कालाई आरोपप्रत्यारोप लगाउँदा लगाउँदै अर्थतन्त्रको सिङ्गो जहाज खतरामा पर्ने अवस्था देखिएको छ, सरकारले चालू खर्चलाई कटौति गर्नुपर्छ, यसको कुनै विकल्प छैन,’ उनले भने ।
यस्तै, उनले मुलुकको समग्र अर्थतन्त्रको जिम्मेवारी राष्ट्र बैंकको नभएर सरकार र अर्थमन्त्रीको भएको बताएका छन् ।
अर्थमन्त्रीले सरकारसँग वित्त नीतिमा ठाउँ छैन सबै राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्नुपर्छ भन्नु अनुचित र व्यवहारिक नभएको बताउँदै उनले भने,’अर्थमन्त्रीले आफूलाई अफ्ठ्यारो प¥यो, अफ्ठ्योरोमा राष्ट्र बैंकको जिम्मेवारी भनेर भाग्न मिल्दैन ।’
बैंकलाई कर्जा दिन राष्ट्र बैंकले नसके पनि अर्थतन्त्र चलायमान बनाउने स्पेश अर्थमन्त्री वा सरकारसँग मात्रै भएको उनले बताए ।
उनले अर्थमन्त्रीले आफू भन्दा फरक राजनीतिक पृष्टिभूमिबाट आएको गभर्नरले सहयोग गर्दैन भन्ने आशय लिएको पाएको तर त्यो सत्य नभएको बताए ।