काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनसनरत सांसद सञ्जय गौतमलाई अनसन तोड्न आग्रह गरेका छन् । मन्त्री ज्वालाले भत्किएकोे पुलभन्दा केही माथि नयाँ पुल बनाउने तयारीभएको भन्दै अनसन तोड्न आग्रह गरेका हुन् ।
बुधबार मन्त्रालयमा प्रत्रकार भेटघाट कार्यक्रमको आयोजन गर्दै उनले अबको दश दिनभित्र नयाँ पुल निर्माणको लागि बोलपत्र आह्वान हुने बताउँदै अनसन तोड्न आग्रह गरेका हुन् ।
लामो समयदेखि भत्किएको पुल नबनेको भन्दै बर्दियाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद सञ्जय गौतम रिले अनसनमा बसेका छन् । गुलरिया र बारबर्दिया जोड्ने भत्केको पुल पुनःनिर्माण गर्नुपर्ने उनको मुख्य माग छ । सांसद गौतम शनिबारदेखि १५ बुँदे माग राखेर अनशनमा छन् । सांसद गौतमले भत्किएको पुलको समस्या समाधान नभएसम्म अनशन बस्ने बताइसकेका छन् ।
भत्किएको पुल प्राविधिक रूपमा सञ्चालन गर्न नसकिने भन्दै नयाँ बनाउने निर्णयमा पुगिसकेको मन्त्री ज्वालाको भनाई छ । गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीस्थित जब्दिघाटको पुल २०७४ साल साउन २८ गते भासिएको थियो । २०७९ साल असोज २० गते आएको बाढीले स्पानसहित बगाएपछि आउजाउ पूर्ण रूपमा ठप्प छ ।
करिब ४ सय २५ मिटर लम्बाइको पुल १६ करोड ६८ लाख रूपैयाँ निर्माण गर्ने गरि पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो ।
निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि विवाद भएको थियो । हस्तान्तरण नहुँदै पुल भत्किएपछि सडक डिभिजन कार्यालय नेपालगञ्जले पप्पुसँग गत मंसिरमा जब्दिघाट पुल निर्माण सम्झौता तोडेको थियो । मन्त्रालयका सचिव केशव शर्माले डिजाइन एन्ड बिल्ड मोडालिटीमा नयाँ पुल बनाउने तयारी भएको बताए ।