काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरिएको १२ जनालाई ४ दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हालसम्म पक्राउ परेका १२ जनालाई थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो ।
गत बुधबार नेपाल प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई खाँणको निवास चाबहिलबाटै पक्राउ गरेको थियो ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका, २३ का सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन् ।
यस्तै, सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका ७ का टंककुमार गुरुङ, दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का पूर्ववडाध्यक्ष सागर राई, काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।
सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।