
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा निजी क्षेत्रले अपेक्षा गरे जस्तो नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताए ।
उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समिक्षा पर्याप्त नभएको दाबी गरे । उनले चृुनौतिपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेकोमा जोड दिए ।
‘राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि ५ करोडमा मात्रै सिमित भएको छ, असार मसान्तसम्म बैंकको कर्जामा ५ करोडसम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त छैन,’ उनले भने ।
यद्यपि, उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरु सम्बोधन नै भएनन् भन्न नमिल्ने पनि बताए ।