काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरमा जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाले गत बैशाख ३० गते साँझ ७ बजे उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई लघुवित्तले २०७९ मंसिर २६ गते मर्जरमा जानको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गत चैत २८ गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले पारित गर्यो ।
यससँगै दुई संस्था एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् ।
मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।