म्याग्दी, २३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरुले ३० लाख रुपैयाँको लगानीमा कृषि फार्म स्थापना गरेका छन् ।
चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अङ्गालेका हुन् ।
माछापालन, अलैँची र कागती खेती गरिने फार्म स्थापना गर्न ३० लाख रुपैयाँ लगानी भएको सञ्जय कुँवरले बताए।
उनीहरु तीनैजना विदेशमा लामो समय रोजगारीका लागि समय बिताएरपछि घर फर्केका थिए ।
स्थानीय स्तरमा स्वरोजगार भई आयआर्जन गर्ने उद्देश्यले कृषि फार्म स्थापना गरेको उनीहरुले बताएका छन् । उनीहरुले फार्म सञ्चालन गर्न दश रोपनी जग्गा खरिद पनि गरेका छन् । रासस