
पछिल्लो समयमा नेपालको विशेषगरी स्नातक तहदेखि माथिको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय र कलेजहरुमा विद्यार्थीको अभाव हुँदै गएको विषय निकै चर्चामा छ । विद्यार्थीको तिव्र विदेश पलायनका कारणले सो समस्या बढ्दै गएको भनेर धेरैले तर्क गरेका छन् । प्रस्तुत छ, यस्तै समसामयिक सन्दर्भमा व्यवस्थापन शिक्षा तथा प्राविधिक शैक्षिक कार्यक्रममा स्थापित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा पूर्वाञ्चल विश्वविद्यालय सभा सदस्य तोयानारायण पौडेलसँग विकासन्युजका लागि नारायण अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
नेपालको उच्च शिक्षामा सरकार र निजी क्षेत्र दुबै पक्षले ठूलो मात्रामा लगानी गरेका छन्, तर, पछिल्लो समयमा एउटा महत्वपूर्ण विषय के उठेको छ भने कलेजहरु पढ्ने विद्यार्थी नै पाउन छाडेका छन् । यो समस्या कसरी भइरहेको छ ?
वास्तवमा भन्ने हो भने नेपालको उच्च शिक्षा क्षेत्रको भौतिक संरचना, जनशक्ति र अध्ययन अध्यापनको विषय विश्वकै स्तरमा छ । मेरो विचारमा त्यस्तो धेरै कमि छैन । मुख्य समस्या भनेको देशमा देखिएको राजनीतिक अस्थिरता र अराजकताका कारण केही मानिसहरुमा वितृस्णा पैदा भएर यो देशमा किन बस्ने भन्ने प्रश्न सिर्जना भएको देखिन्छ ।
यहाँ पढ्दा गरिने खर्च विदेशमा खर्च गर्दा पढाईसँगै आम्दानी पनि गर्न सकिने भन्ने मानसिकता पनि केही अभिभावकहरुमा भएको देखिन्छ । अर्को विषय जापान लगायत विश्वका विकसित मुलुकहरुमा वृद्ध मानिसहरुको संख्या बढ्दै गएको छ र उनीहरुले आफ्नो देशमा आवश्यक जनशक्तिको आपूर्तिको लागि पनि हाम्रो जस्तो मुलुकका युवाहरुलाई विदेश जाने वातावरण बनाइरहेका छन् । हामीसँग पनि त्यसको लागि मार्केटिङ गर्न आइरहेका छन् ।
पक्कै पनि यो विषय खुसीको विषय होइन, देशको युवाशक्ति बाहिरिएर देश बन्न सक्दैन । हामीले देशको विकास गर्नकोलागि युवाहरुलाई देशमा नै बस्ने वातावरण सिर्जना गर्नसक्नुपर्छ ।
हाम्रो देशको विकास सम्बन्धी योजना नै भएन, सोही अनुसार कुन प्रकारको जनशक्ति विकास गर्ने भन्ने विषय पनि शिक्षासँग जोडिएको छैन । हामीले उत्पादन गरेका विद्यार्थीहरुमा पनि अध्ययन पुरा गरिसकेपछि अब यत्तिको शिक्षा लिइसकेपछि त विदेशमा गएर पनि राम्रो गर्नसक्छु भन्ने विचार विकास भएको देखिन्छ ।
अहिले विदेश जानको लागि निकै सहज भएको छ, जसकारणले पनि युवा अथवा विद्यार्थीहरुमा विदेश जाने इच्छा बढीरहेको देखिन्छ । यहाँनेर के हो भने नेपालको उच्च शिक्षा प्रदान गर्ने क्षेत्र कमजोर भएर होइन की राज्यकै कारणले यो अवस्थाको सिर्जना भएको हो ।
भनिन्छ विश्वका विकसित मुलुकहरुका विश्विद्यालयहरुले समायनुकुल र आँफै पनि रोजगार प्रदान गर्न सक्ने अवस्थाबाट सञ्चालन भइरहेका छन् । जसका कारणले विद्यार्थीहरुलाई उच्च शिक्षा लिन सहज छ । नेपालका विश्वविद्यालय र कलेजहरु पनि परम्परागत हुँदै गएर विद्यार्थी आकर्षित हुन छाडेका हुन् की ?
त्यसो होइन, उदाहरणको लागि नेपालमा कम्युनिकेशन कम्पनीहरु कति खुल्न सक्छन् ? मेरो जानकारीमा आएअनुसार दर्जनौं कम्पनीहरु त्यसका लागि पाइपलाइनमा छन् तर सरकारले अनुमति दिँदैन । आवश्यकता अनुसार त्यसो गर्नसक्यो भने नेपालमा इलेक्ट्रोनिक इन्जिनियर पढेका हजारौंले काम पाउन सक्छन् । त्यस्तै अन्य विकाससँग सम्बन्धित क्षेत्रमा विकास नहुँदा जनशक्तिको खपत हुन सकेन ।
अहिले गाउँमा डोजर ड्राइभरले बाटो खनेर पैसा सक्ने काम भएको छ । कुन कुराको विकासको आवश्यकता छ भन्ने विषयमा मूल्यांकन नै भएको छैन । हामीकहाँ उत्पादन भएका सिभिल इन्जिनियर, कृषि इन्जिनियर, ग्रामिण विकास इन्जिनियर लगायतले नै काम नपाइरहेको अवस्था छ । केही समय अगाडि सम्मको अवस्थामा गाउँमा किनेर खानुपर्यो भने रातिको समयमा लुकेर खरिद जानुपर्थ्यो । कसैले देख्ला र किनेर खानेरैछ भन्ला की भन्ने डर हुन्थ्यो, तर अहिले हेरौं सबैले खरिद गरेर खाने भएका छन् ।
नीति नै भएन, गाउँमा बस्ने र काम गर्ने वातावरण निर्माण गर्नको लागि स्थानीय, प्रदेश र संघीय सरकारको कार्यक्रम नै छैन् । त्यो मात्रै होइन काठमाडौंमा पाइने औषधि देखि खानेकुरासम्मको गुणस्तर र गाउँमा पाइनेमा फरक छ । वास्तवमा मानिसहरुलाई गाउँमा वस्ने वातावरण नै सिर्जना गरिएको छैन । शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता कुराहरुमा मानिसले सुविधा खोज्छ । यो स्वभाविक विषय हो ।
हो, अर्को विषय अहिले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षामा जुन प्रकारको राजनीतिक हस्तक्षेप भइरहेको छ, त्यसले पनि समस्या सिर्जना गरेको छ । मैले नेपालमा विद्यार्थीहरु नटिक्नुमा कलेजहरुको भूमिकामा समस्या धेरै देख्दिन । किनभने राज्य कता लैजाने भन्ने विषय राजनीतिले निर्धारण गर्छ । देशलाई कता लैजाने कसरी विकास गर्ने भन्ने नीति निर्माणको ठाउँमा राजनीतिक व्यक्तिहरु रहेका हुन्छन् । हामी शिक्षा क्षेत्र सञ्चालकहरुले राज्यले निर्धारण गरेको नीतिलाई लिएर अगाडि बढ्ने मात्रै हो । यो भूमिका हामीले निर्वाह गरिरहेका छौं ।
मैले निजी स्कुल र निजी कलेजहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने पनि धारणा राख्न चाहन्न । सरकारी स्कुल कलेजमा अध्ययन गर्ने वातावरण बनाऔं न । केही समय अगाडिसम्म १० कक्षा सम्मको अध्ययनका लागि पनि ठूलो संख्यामा नेपाली विद्यार्थी जाने गरेको अवस्था थियो, किनकी यहाँको शिक्षामा गुणस्तरको समस्या थियो, अहिले त सो समस्या हटेर पनि गएको छ, यसमा निजी क्षेत्रको योगदान छ ।
भनेपछि तपाईंको बुझाइमा शिक्षाको गुणस्तर वा स्कुल कलेजको कारणले होइन यहाँभित्रको रोजगार तथा उद्यमको वातावरणको कारणले मात्रै विद्यार्थी पलायन भइरहेका छन् ?
एकदमै । मैले नै ४६ सालदेखि अहिलेसम्म आन्दोलन भन्दा अर्को कुरा देखेकै छैन । हामीले कहिलेसम्म गर्ने हो आन्दोलन ? हामी पञ्चायती व्यवस्था गलत छ भनेर फाल्यौं, अहिले बहुदलको ३५ वर्षमा पनि फेरि यस्तै मात्रै देखिरहेका छौं ।
अहिले विद्यालयमा विद्यार्थीलाई दिवाखाजा बाँड्ने काम भइरहेको छ ? यो किन भइरहेको छ ? हामीले खल्तिमा मकै हालेर पढेका हौं । के दिवा खाजा दिएर विद्यार्थीको संख्या बढ्छ । स्कुलमा गुणस्तरीय शिक्षा दिने शिक्षकको व्यवस्था गरौं, मानिसहरुलाई गाउँमा बस्ने वातावरण बनाऔं, एकजना गाउँमै बसेर महिनामा कम्तिमा ५० हजार कमाउन सकोस । त्यसो भएमा काठमाडौंमा आएर किन बस्न पर्यो । म आँफै गाउँमा गएर बस्छु । कोही पनि मान्छे खान नपाएर स्कुल नगएका होइनन् । बरु हामीले मान्छेलाई फेरि अर्को खाने ठाउँ बनाइदियौं । यो निकै गलत काम भएको छ ।
विश्वविद्यालयहरुले समयमा परीक्षा नलिने, समयमा परीक्षाको नतिजा ननिकाल्ने जस्ता विद्यार्थीहरुले ठूलो समस्या पनि त झेलिरहेका छन् । के अबको समयमा विश्वविद्यालयहरुको भूमिका स्मार्ट हुनुपर्दैन ?
पहिला त व्यक्तिगत रुपमा यति धेरै विश्विद्यालयहरु खोल्ने विषयको विरोध गर्दै आएको छु । विश्वविद्यालय के को लागि खोलिएको छ ? यसको योजना बनाउने काम कसले गरिरहेको छ ? सबैभन्दा पहिला योजना नै भएन की कुन विश्वविद्यालयले के पढाउने ? देशको लागि आवश्यकता के हो ? उत्पादिन जनशक्तिलाई कुन क्षेत्रमा लैजाने ? यस्तो विषयमा तयारी गर्ने योजनाकारहरुले हो ।
समयमा परीक्षा भएन, समयमा नतिजा आएन भन्ने विषयहरु केही मात्रामा आएका पनि हुन् । तर, विश्वविद्यालयहरुले त्यसमा धेरै मिलान गरिसकेका छन् । कोभिडको समयमा केही समस्या भएको थियो । अब विश्वविद्यालयहरुले सुधार गरिसकेका छन् । विदेशी विश्वविद्यालयहरुको जस्तो एसाइन्मेन्ट दिएर नतिजा निकाल्ने हाम्रो शिक्षा होइन, हाम्रो शिक्षा राम्रोसँग लिने हो भने विश्वको जुनसुकै ठाउँमा सम्बन्धित विषयमा विद्यार्थी कमजोर हुँदैन ।
विश्वविद्यालयहरुमा हुने राजनीतिक नियुक्ति, विद्यार्थी संगठन, प्राध्यापक संगठन, तालावन्दी लगायतका विषयहरु छन् । राजनीतिक पदाधिकारी राजनीतिक भएपछि उनीहरुलाई उनीहरुलाई राजनीतिक मान्छेहरुले आफ्नो तरिकाले दबाब दिने काम भइरहेको हुन्छ । जसले गर्दा केही अप्ठ्यारोहरु भइरहेको देखिन्छ । सोही बीचमा पनि अगाडि बढिरहेको अवस्था छ । अहिले धेरै विश्वविद्यालयहरुले परीक्षा सकिएको दुई महिनाभित्र नतिजा निकाल्नुपर्छ भन्ने विषयको टुंगोमा पुगेका छन् । सायद अब विद्यार्थी परीक्षा र नतिजको कारणले नै विदेशिनुपर्ने अवस्था भने अब छैन ।
यहाँनेर मेरो सुझाव के हो भने पढ्ने भनेको जागिर खानको लागि मात्रै होइन । विद्यार्थी राम्रोसँग अध्ययन गरेन भने उ अगाडि बढ्न पनि सक्दैन । १२ कक्षा सम्मको शिक्षा भनेको स्कुल शिक्षा हो । स्नातक तहको शिक्षाले नै मानिसको आधार तयार गर्छ । सो तहको अध्ययनपछि कुन क्षेत्रमा जाने हो भन्ने विषयमा उसले निर्णय गर्नसक्ने हुनुपर्छ ।
समयानुकुल गुणस्तरीय शैक्षिक क्षेत्र बनाउने विषयमा तपाईं कलेज सञ्चालकहरुको भूमिका हुँदैन ?
अहिले विद्यार्थीहरुले एउटा सजिलो तरिकाले पढ्न खोजेका छन् भने अर्को पढाई सकिएपछि तुरुन्त बजारमा बिक्न चाहन्छन् । हाम्रो देशको शिक्षा विश्वविद्यालय, योजना आयोग लगायतले तुरुन्त हाम्रो शिक्षामा क्रान्तिकारी परिवर्तनको लागि कुनै समूह नै गठन गरेर अनुसन्धानका साथ अगाडि बढ्नुपर्छ ।
अहिले धेरै विद्यार्थीको सोँच नै यो देशमा नबस्ने भन्ने भएको छ । हाम्रो कलेजमा नै स्नातक तहको पहिलो वर्षमा भर्ना भएका मध्ये २० प्रतिशत विद्यार्थीहरु अर्को सेमेस्टरमा विदेश जान्छन् । अहिले हामीले बिद्यार्थीहरुको जागिरमा समेत सहज होस भनेर बेलुका ५ बजेदेखि ९ बजेसम्म सिभिल इन्जिनियर पढाउने शुरु गरेका छौं ।
विश्वविद्यालयहरुले र सरकारले समसामयिक अनुकुलता र आवश्यकताको आधारमा शिक्षाको विकास गर्ने विषयमा ठूलो अनुसन्धान गरेर अगाडि बढ्नुपर्छ । अब ढिलो भैसकेको छ ।