काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताएकी हुन् ।
उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताइन् ।
उनले देशमा दिनानुदिन भ्रष्टाचार बढीरहेको भन्दै विचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको बताइन् ।
‘दिनानुदिन भ्रष्टाचार बढीरहेको अवस्थामा सरकारले आवश्यक आर्थिक रणनीति अपनाउनुको साथै विचौलिया, भ्रष्टाचारी, दलाललाई पृष्ठपोषण दिने संस्थालाई पनि भत्काउनु जरुरी छ,’ उनले भनिन् ।
उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन् । उनले न्युन बजेट विनियोजनका कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन नसकेको बताइन् ।