काठमाडौं । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् ।
जसपा अध्यक्ष यादवले १० हजार १९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ८०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ४ हजार ११ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।
कुल १ लाख ५ हजार २४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको छ ।