
काठमाडौं । शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको बैठकले संसदीय समितिहरुको टुंगो लगाएका छन् ।
सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संयुक्त संसदीय समिति संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले नेतृत्व गर्ने गरी टुंग्याएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदीय सुनुवाई समितिमा सभापति नेपाली काँग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको जानकारी दिए ।
उनले प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको पनि बताए ।
‘संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुंगो लगाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक भने १५ सदस्यीय विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको छ, संसदीय सुनुवाई समितिमा नेकपा एमालेले ४ जना सदस्य नै पाउने सहमति भएको छ, चालु अधिवेशन यही वैशाख १५ गतेसम्म चल्ने छ,’ उनले भने ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि १५ सदस्यीय विशेष समिति बनाइ छलफल गर्ने र अर्को अधिवेशनबाट पास गर्ने सहमति भएको जानकारी दिए । उनले चालु संसद अधिवेशन अब एक, दुई दिनमात्रै चल्ने बताए ।
त्यस्तै, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदभित्र भएका सबै राजनीतिक दलहरुसँग आपसमा सहमतिका आधारमा नै संसद सञ्चालन गरेर अघि बढ्ने सहमति अनुसार शीर्ष दलका नेताहरुबीच सहमति भएको जानकारी दिए । उनले सबै दलहरुलाई समेटेर नै विषयगत समितिहरु पनि टुंग्याइएको बताए ।
प्रमुख सचेतक लेखकले चालु अधिवेशन अब दुई, तीन दिन मात्रै सञ्चालन हुने बताए ।