काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
बिहान ८ बजेसम्मको नतिजाअनुसार ८ वडाको मतपरिणाम सम्पन्न हुँदा डा. वाग्लेले ७ हजार २९३ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन् ।
आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।