निर्यातमा सिमेन्टको हिस्सा बढ्दै, ९ महिनामै ४२ करोड

<p>काठमाडौं । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले ४२ करोड रुपैयाँ बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा ४२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । समीक्षा अवधिमा २३ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले ४२ करोड रुपैयाँ बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा ४२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।

समीक्षा अवधिमा २३ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको क्लिंकर र १८ करोड ५९ लाख १६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । सो अवधिमा २ लाख ७२ हजार ३२८ टन क्लिङ्कर र १ लाख ९२ हजार १ टन सिमेन्ट निर्यात भएको छ ।

सरकारले चालु आवको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै २ सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको तानसेन र असोज ३१ गतेदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भएको हो ।

नियमित निर्यात

पाल्पा र अर्घखाँची सिमेन्टरले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । अर्घखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यातमा केही सुस्तता आएपनि हाल नियमित रुपमा निर्यात भइरहेको बताए ।

‘ठूला चाडपर्वका कारण केही सुस्तता भएको थियो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझन समेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उनले भने ।

अर्घाखाँची ब्राण्डको सिमेन्ट पनि हाल भारतको युपी सहरमा निर्यात भइरहेको छ । पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टीलले साउन ४ गते तथा अर्घखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् ।

सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको हो । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ ।

सिमेन्ट उत्पादक सङ्घको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् । रासस

Share News