काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले लागु औषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीले यसबारेमा जानकारी गराएको हो । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी वर्ष ६३ की पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन् ।
रविन्द्रकुमारलाई वैशाख ५ गते काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो भने एन्ड्रिटुलाई ठमेलस्थित नै अर्को होटलबाट युएस एक हजार डलरसहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक चमराज जोशीले बताए ।

उनीहरुको साथबाट कालो रंगको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाइ छिपाइ राखिएको अवस्थामा लागुऔषध १ केजी ८० ग्राम कोकिनसहित पक्राउ गरिएको र केनियन महिलाबाट एक सय अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।
उनीहरुलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।
बरामद लागु ओषध कोकिनको अन्दाजी अवैध बजारमूल्य २ करोड ३३ लाख २८ हजार रहेको छ ।