अधिकांश बैंकको नाफा घट्यो, डेढ खर्ब बढी प्रोभिजन गर्नु पर्ने

<p>काठमाडौं । वाणिज्य बैंकहरुको चालू आर्थिक वर्षको तेस्रो त्रैमास निराशाजनक देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको वित्तीय विवरण खासै सन्तोजनक नदेखिएको हो । हामीलाई प्राप्त अधिकांश बैंकहरुको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । अहिले वाणिज्य बैंकहरुको ४८ खर्ब बढी कर्जा लगानी [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुको चालू आर्थिक वर्षको तेस्रो त्रैमास निराशाजनक देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको वित्तीय विवरण खासै सन्तोजनक नदेखिएको हो ।

हामीलाई प्राप्त अधिकांश बैंकहरुको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । अहिले वाणिज्य बैंकहरुको ४८ खर्ब बढी कर्जा लगानी गरेका छन् । त्यसमा वाणिज्य बैंकको औसतमा ३.५ प्रतिशत खराब कर्जा आउने देखिन्छ । यस हिसाबमा बैंकहरुले साढे १ खर्ब बढी प्रोभिजन गर्नु पर्ने देखिएको छ । कुनै बैंकहरुको खराब कर्जा ४ प्रतिशत बढी छ ।

हामीलाई प्राप्त तथ्यांक अनुसार ८ वाणिज्य बैंकको औसत खराब कर्जा ३.२ प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब

राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँ नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकले फागुनससम्म ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो ।

यस्तै, बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

साथै, बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको बैंकले बताएको छ । अघिल्लो वर्षको चैत मसान्तसमा ३.०७ प्रतिशत खराब कर्जा थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.७९ प्रतिशत थियो । दोस्रो त्रैमासमा यो बैंक नाफामा नम्बर वान बनेको थियो ।

कृषि विकास बैंकको नाफा २ अर्ब

कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले भोलि (बिहीबार ७ गते) तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दैछ ।

बैंक स्रोतका अनुसार ९ महिनाको अवधिमा २ अर्ब बढी नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको निक्षेप १३ प्रतिशत वृद्धि भएको छ । चैत मान्तसम्म बैंकको निक्षेप १ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यस्तै, बैंकको कर्जा २ प्रतिशत बढेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ८० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८५ प्रतिशतमा झारेको बैंकले जनाएको छ । बैंकको आधार दर १० प्रतिशतको हाराहारीमा छ ।

बैंकले गत वर्षकोभन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा ४ प्रतिशतमा झरेको बैंकले बताएको छ । यसअघि दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यद्यपी गत वर्षको चैत मसान्तसम्म २.३२ प्रतिशतखराब कर्जा थियो । बैंक स्रोतका अनुसार आर्थिक वर्षको असार मसान्तमा १ प्रतिशतमा खराब कर्जा झार्ने लक्ष्य राखेको छ ।

कुमारी बैंकको नाफा पौने २ अर्ब

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दैछ ।

बैंकले यो अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा २ खर्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा भने बढेको छ । बैंकको एनपीएल ३.९ प्रतिशत पुगेको छ भने सीडी रेसियो सीडी रेसियो ८९ रहेको छ ।

कुमारी र एनसीसी बैंकबीच गत असोजमा मर्जर सम्झौता भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा १ खर्ब ८० अर्ब, निक्षेप १ खर्ब ६५ अर्ब र कर्जा लगानी कर्जा १ खर्ब ५५ रुपैयाँ गरेको थियो ।

यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल ०.९६ प्रतिशत र सीडी रेसियो ९१ प्रतिशत थियो । यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड नाफा, १ खर्ब २५ अर्ब निक्षेप संकलन र कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ गरेको थियो । एनसीसी बैंकको एनपीएल १.५२ प्रतिशत र सीडी रेसियो ८९.१४ प्रतिशत रहेको थियो ।

नेपाल एसबिआई बैंकको नाफा साढे १ अर्ब

नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षमा सो नाफा गरेको हो । यसबाट बैंकले प्रोभिजन भने छुट्याउन बाँकी छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको थियो भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
यस्तै, बैंकको खराब कर्जा ०.८ र सीडी रेसियो ८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१४ प्रतिशत र सीडी रेसियो ९५.३५ प्रतिशत थियो । बैंकले सीडी रेसियो ह्वात्तै घटाउन सफल भएको छ ।

 नेपाल बैंकको नाफा १ अर्ब ७८ करोड

नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैंकको नाफा १८ प्रतिशतले घटेको देखिएको छ ।

यस्तै, बैंकले तेस्रो त्रैमासमा २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८७ अर्ब निक्षेप र १ खर्ब ६८ रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ भने कर्जा–निक्षेप अनुपात ७७.७५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको २.०६ खराब कर्जा र ९०.३६ प्रतिशत सीडी रेसियो थियो ।

प्रभु बैंकको २ अर्ब नाफा

प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमाको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो ।

बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३.५ प्रतिशत रहेको छ भने ८५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।

प्रभु बैंकले गत पुसमा सेञ्चुरी बैंकलाई गाभेको थियो । एकीकृत कारोबार नहुँदै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ७५ करोड नाफा, १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । सो अवधिमा प्रभु बैंकको एनपीएल १.२१ प्रतिशत र सीडी रेसियो ८२.११ प्रतिशत थियो ।

यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा सेञ्चुरी बैंकमा १ अर्ब १ करोड खुद नाफा गरेको छ भने ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप, ८७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, सेञ्चुरी बैंकको खराब कर्जा १.६० प्रतिशत र सीडी रेसियो ९३.५७ प्रतिशत थियो ।

सिद्धार्थ बैंकको नाफा साढे १ अर्ब

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको नाफा २८ प्रतिशतले घटेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले तेस्रो त्रैमाससम्म कुल २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८९ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

यस्तै, बैंकको तेस्रो त्रैमासमा ३.९७ प्रतिशत खराब कर्जा देखिएको छ भने ८३ प्रतिशत सीडी रेसियो कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.१२ प्रतिशत र सीडी रेसियो ८९.७५ प्रतिशत थियो ।

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३२ करोड

माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ ।

यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संक्लन गरेको छ भने १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो ।

बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।

Share News