काठमाडौं । व्यवसायीहरुले उद्योग व्यवसाय क्षेत्र पुस महिनादेखि झनै मरणासन्न अवस्थामा पुगेको बताएका छन् ।
सोमबार एक विज्ञप्ती जारी गर्दै उद्योग संगठन मोरङले लामो समयदेखि बजारमा ब्याप्त मन्दि, बैंकको चर्को ब्याजदर लगायतका कारणले शिथिल बनेको उद्योग व्यवसाय क्षेत्र पुसदेखि विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले झनै मरणासन्न अवस्थामा पुर्याएको बताएको हो ।
उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन भने बन्द गरी उद्योगीरव्यवसायी सडकमा आउनुको विकल्प नरहने र त्यसपश्चात उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन संगठनले अनुरोध गरेको छ ।
‘विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको छ भने उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्ष्ँमता नै हस आईरहेको छ,’ संगठनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
संगठनले विद्युत प्राधिकरणलाई विद्युत आपूर्तिको समस्यालाई समस्याको रुपमा लिई उपयुक्त समाधान खोजी विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न अनुरोध गरेको छ ।