काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज साढे १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । उनको आगमनका क्रममा आज काठमाडौंको सवारी आवागमन प्रभावित मात्र नभइ एक प्रकारको अघोषित कफ्र्यू लागेको जस्तै हुने भएको छ ।

दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना छैन भने नेपाली सेनाले हवाइ गस्ती गर्ने तथा सडक छेउका झ्याल ढोका समेत बन्द गर्न लगाइएको छ । ११ः३० बजेदेखि २ बजेसम्मका लागि सवारी हुने बाटोको झ्याल ढोका समेत बन्द गर्न आदेश आएको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् ।

भारतीय राष्ट्रपति प्रणम मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी
गाडी चल्न नदिने र सर्वसाधारण समेत हिड्न नपाउने भएपछि चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिएको छ । उनको साथमा भारतका उच्च पदस्थ अधिकारी पनि आउँने कार्यक्रम रहेको छ । ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाउँदै सर्वसाधारणलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको छ ।
ट्राफ्रिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका समयमा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ । मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनसहित डिजिटल सम्पर्क विच्छेद हुनेछ ।
सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । त्यस्तै मुखर्जी नेपाल आउँदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल करिब ५० मिनेट बन्द गरिएकाे छ । मध्यान्ह १२ः१० बजेदेखि १ बजेसम्म आन्तरिक र वाह्य दुबै उडान पुरै बन्द गरिएको छ ।
मुखर्जीको सुरक्षामा मुखर्जी आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोकिएको छ । विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गर्ने बताएको छ । त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने भएपनि त्रिभुवन विमानस्थलले ‘नोटाम’ अवधी थपिनसक्ने समेत बताएको छ । राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छिन् ।