घट्यो आयातसँगै स्वदेशी वस्तुको निर्यात, ९ खर्ब ५३ अर्बको ब्यापार घाटा

<p>काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको अबधिमा आयातसँगै निर्यातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको हो । बैंकले सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार १९.१ प्रतिशतले आयातमा कमी आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १० खर्ब ५८ [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको अबधिमा आयातसँगै निर्यातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको हो ।

बैंकले सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार १९.१ प्रतिशतले आयातमा कमी आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १० खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.६ प्रतिशत, २१.७ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, कच्चा भटमासकोतेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको उल्लेख छ ।

यस्तै, चालू आवको आठ महिनाको अबधिमा स्वदेशी वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १०४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आठ महिनामा कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई ९५३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आयात १४७ अर्ब ३ करोड रुपैयाँ बराबरको भएको थियो ।

Share News