
काठमाडौं । सरकारले युवालाई विदेश जान बाट रोक्ने कार्यक्रम अगाडि बढाएको छ । गठबन्धनको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै युवालाई विदेश जानबाट रोक्नको लागि सस्तो ब्याजमा कर्जा लिएर उद्यममा लगाउने नीति अगाडि सारेको हो ।
सरकारले युवाको अधिकार शिक्षा र रोजगारको अवधारणालाई व्यवहारिक रूप दिने, ऊर्जाशील युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलताउन्मुख सीप, पुँजी र व्यवसायिक तालिम दिने र सहुलियतपूर्ण व्याजदरमा बिउपुँजी उपलब्ध गराउन स्टार्टअप कोष स्थापना गर्ने लगायका कार्यक्रमहरु अगाडि सारेको छ ।
यस्तै, श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमलाई न्यूनिकरण गर्ने र सामाजिक सुरक्षा कार्यक्रमलाई अर्थतन्त्रका औपचारिक क्षेत्रका अतिरिक्त अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गर्ने नीति अगाडि सारेको छ ।