काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताएका छन् ।
महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताएका हुन् ।
तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतहरुलाई संस्थागत गर्नका लागि चाल्नु पर्ने कदमहरु र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा हुने उनले बताए ।
‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ, विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निश्कर्ष निकालिनेछ, सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, सहकारीको योगदान र आगामी दिनहरुमा सहकारीलाई कुन गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ,’ उनले भने ।
आज राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन सुरु भएको छ । महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा आज महासम्मेलन सुरु भएको हो । सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने नाराका साथ महासम्मेलन सुरु भएको हो ।
महासम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका छन् । महासम्मेलनमा पूर्व अर्थमन्त्री, मन्त्रीहरू, गभर्नर, पूर्व गर्भनर, सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी लगायत देशका ८०० बढी सहकारीको सहभागिता रहेको छ ।