काठमाडौं । दुग्ध उत्पादक सहकारी संस्थाहरु पछिल्लो समय बिचौलियाको काम गर्न थालेका छन् । सर्वसाधारण तथा कृषकहरुले उत्पादन गरेको वस्तुलाई उचित मूल्यमा बजारमा पुर्याउने अर्थात् मध्यस्तकर्ताको भूमीका खेल्नु पर्नेमा सहकारी संस्थाहरुबाट नै किसानहरु ठगिने गरेका छन् ।अधिकांश सहकारहरुले सरकारले तोकेको न्यूनतम मूल्यभन्दा बढीमा दुग्ध संकलन गरेर महँगोमा बिक्री गरिरहेका छन् ।
सहकारीहरुले किसानका नाममा प्रतिलिटर १० देखि १८ रुपैयाँसम्म बढी मूल्य लिने गरेको डेरी उद्योगीहरुले बताएका छन् । चैत २० गतेदेखि लागू हुने गरी सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ बनाएको थियो । बजारमा दूधको मूल्य चर्काे भएतापनि किसानले पाउने रकम न्यून भएको गुनासोपछि सरकारले किसानका लागि लिटरमा ९ रुपैयाँले दूधको मूल्य बढाएको थियो । यस अघि किसाने बिक्री गर्ने मूल्य ५६ रुपैयाँ रहेको थियो ।
किसानका नाममा सरकारले दूधको मूल्य बढाउँदा त्यसको फाइदा सहकारीहरुले लिन थालेका हुन् । ‘यसअघि दुग्ध सहकारी संस्थाहरुले लिटरमा ४ देखि ५ रुपैयाँमात्र लिने गरेका थिए, तर पछिल्लो समय किसानका लागि बढाईएकोे दुग्धको मूल्यलाई आधार मानेर १० रुपैयाँदेखि १५ रुपैयाँसम्म लिन थाले’, सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) स्रोतले भन्यो ।
किसानका नाममा बढाइएको दुग्धको मूल्यमा पछिल्लो समय सहकारी संस्थाहरु हाबी हुन थालेको स्रोतकोे भनाइ छ ।
‘किसानका नाममा सहकारीका बिचौलियाहरु हाबी थिए, एक दुई जना दुधका ठेकेदारका कारण समग्र क्षेत्र नै प्रभावित बनिरहेकाे छ, किसानबाट लिएर उद्योगलाई बिक्री गर्दा लिटरमा नै १० रुपैयाँदेखि १५ रुपैयाँसम्म लिएका छन्, अहिले सहकारीकोे मर्म अनुसार कुनै पनि दुग्ध सहकारी संस्था चलेका छैनन्’, स्रोतले भन्यो, ‘पहिलो सहकारीको सञ्चालन खर्च भनेर डीडीसीले समेत लिटरमा ३ देखि ५ रुपैयाँसम्म रकम दिने गरेको थियो, तर अहिले लिटरमै ठूलो रकम दिनु परेको छ, किसानकै संस्था हो भनेर थोरै रकम दिने गरिएको थियो, तर अहिले बजारमा दुग्ध संकलन त्यति धेरै छैन, त्यही मौका छोपेर दुध भाडामा खन्याएको काम गर्दा धेरै पैसा लिने गरेको छ ।’
दुग्ध उद्योगीहरु किसानको दुध ठेकेदारको हातमा परेको गुनासो गर्छन् ।
‘अहिले बढी मूल्यका लागि विभिन्न दुग्ध सहकारीहरुले हामी उद्योगीलाई पत्र पठाउन थालेका छन्, सरकारले तोेकेको प्रति लिटर मूल्य ६५ रुपैयाँ, तर हामीकहाँ अधिकांश सहकारीबाट ७८.९३ रुपैयाँ हुने गरी पत्र आएको छ’, एक डेरी सञ्चालकले भने, ‘किसानले पाउने मूल्य ६५ रुपैयाँ हो, किसानको घरमा रहेको दुग्ध डेरी उद्योगसम्म आउँदा ६ देखि ७ तह हुन्छ, प्रत्येक तहका व्यक्तिले रकम लिँदा किसानले पाउने मूल्य हाराहारीमा नै उपभोक्ताले दुग्ध पाएका छन् ।’
किसानको घरबाट स्थानीय दूग्ध संकलन केन्द्र, स्थानीय केन्द्रबाट चिस्यान उपलब्ध रहेको डेरी, चिस्यान डेरीबाट ठूलो दूग्ध संकलन केन्द्र, त्यहाँबाट ट्यांकर मार्फत डेरी उद्योेगमा दूग्ध आउँछन् । चार तहहुँदै आएकोे दुग्ध उद्योगले प्रशोधन गरेर प्याकेजिङ गरी बजारमा पठाउँछन् ।
डेरी उद्योगबाट ठूला पसल सञ्चालकले दूग्ध लैजान्छन्, ठूलाबाट स–साना किराना पसलहुँदै बल्ल उपभोक्ताको हात वा घरमा दूग्ध पुग्छ ।
किसानले ६५ रुपैयाँमा बिक्री गरेको दूग्ध डेरीमा प्रशोधन भएर पुनः किसानकै घरमा पुग्दा ३५ रुपैयाँले बृद्धि भएर लिटरको एक सय रुपैयाँ पुग्छ ।
‘हामीलाई बढी रकम लिन पत्र पठाउने सहकारीका बिचौलियाहरुले उल्टो डेरीबाट एड्भान्स (अग्रिम रकम) समेत लिने गरेका छन्, जम्मा भएकाे दुध एउटा डेरीलाई मात्र नदिएर उनीहरुले फरक-फरक डेरी सञ्चालकसँग बार्गेनिङ गरेर दुध बिक्री गर्ने गरेका छन्, उनीहरुले अग्रिम लिने रकमको न कुनै ब्याज दिन्छ, न समयमा नै दुध दिन्छ’, जसले बढी रकम दिन्छ सोही उद्योगलाई धेरै दुध दिने गरेको पाइयो’, ती सञ्चालकले भने ।
डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सरकारले तोकेको मूल्यमा बजारमा दुध नपाइने बताउँछन् । ‘अहिले हामीकहाँ धेरै साथीहरुले बढी मूल्य पर्याे भन्ने गुनासो गर्ने गर्नुभएको छ, सरकारले तोकेको मूल्यमा भने दुध पाइएको छैन’, उनले भने ।
केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा सहकारी संस्थाहरुले बढी मूल्य लिएको स्वीकार गर्छन् ।
‘केही स्थानमा तोकिएकोभन्दा बढी मूल्य लिएको सत्य हो, तर सबै स्थानमा बढि लिइएको छैन्’, उनले भने, ‘हामीले उद्योगसँग बढी लिएको दूधकाे मूल्य किसानलाई नै दिन्छौँ, हामी सहकारीले राख्दैनाैं ’, उनले भने, ‘सरकारले तोकेको न्यूनतम मूल्य हो, देशका कुना कप्चाका किसानले संकलन केन्द्रमा नै प्रतिलिटर ६५ रुपैयाँ पाउनु भन्ने हो, ठाउँ अनुसार केही स्थानाम बढी रकम लिइएको छ, पहिले पनि लिइएको थियो, अहिले पनि केही पैसा बढी लिएको होला ।’
दुधको गुणस्तर अनुसार केही ठाउँमा बढी रकम लिएको हुन सक्ने उनले बताए । उनले काठमाडौं उपत्यकामा नै तोकिएको भन्दा केही बढी रकम लिइएको बताए । ‘हामीले किसान र उद्योगीसँग सहमति गरेर केही बढी रकम लिएका हौँ, त्यो रकम किसानलाई नै दिएका छौं, उनले भने ।
सहकारीले डेरी उद्योगलाई प्रति फ्याट ७.७५ रुपैयाँ लिने गरेका छन् । त्यसमा ४ फ्याट जोड्दा प्रति लिटर ३१ रुपैयाँ लिने गरेका छन् । यस्तै, प्रति एसएनएफ ५ रुपैयाँ तोकिएको छ । प्रति एसएनएफ ८ रुपैयाँ अनुसार सहकारीले ४० रुपैयाँ लिने गरेको छ ।
यस्तै, प्रति लिटर थप शुल्क भन्दै ४ रुपैयाँ सहकारीले लिदै आएका छन् भने टिएस कमिशन बापत ३५ प्रतिशत रकम लिने गरेका छन् । सरकारले किसानका लागि लिटरमा ६५ रुपैयाँ तोकेकोमा सहकारीले लिटरको ७८.९३ रुपैयाँ लाग्नेभन्दै पत्र पठाउने गरेका हुन् ।