बागलुङ, ११ कात्तिक । चाडपर्वलाई लक्षित गरी यहाँ खोलिएको सुपथ मूल्यको पसलमा हालसम्म रु ५१ लाख ३४ हजारको कारोबार भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउन साल्ट ट्रेडिङ कार्यालयले गत असोज ५ गतेदेखि उक्त सुपथ मूल्यको पसल सञ्चालन गरेको थियो । बुधबारसम्म ५९ हजार ३५६ किलो चिनी र २७ हजार ८३८ किलो नुन बिक्री भएको छ ।
साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठका अनुसार हालसम्म चिनी बिक्रीबाट रु ४६ लाख ८९ हजार र नुन बिक्रीबाट रु चार लाख ४५ हजार आम्दानी भएको छ । एक महिनाभन्दा बढी अवधिमा नौ हजार ८९२ उपभोक्ताले सेवा लिएका छन् । सुपथ मूल्य पसल कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।
सुपथ मूल्य पसलमा बजार मूल्यको तुलनामा चिनी प्रतिकलिो रु ६ र नुन प्रतिकिलो रु चार कम मूल्यमा उपभोक्ताले खरिद गर्न पाएका छन् । सुपथ मूल्य पसलले चिनी रु ७९ र नुन रु १६ मा उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । उपभोक्ताले चिनी छ किलो र नुन तीन किलोसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको श्रेष्ठले बताए ।
उक्त पसल दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सार्वजनिक बिदाबाहेकका सबै दिनमा खुल्ला रहने गरेको छ । दसैँ, तिहार र छठलाई लक्षित गरी सरकारले देशभर यस्ता सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपभोक्ताले भने चाडबाडबाहेकको समयमा पनि सहुुलियत मूल्यको पसल सञ्चालन गर्नुपर्ने माग गरेका छन् । चिनी र नुन मात्रै नभएर अन्य उपभोग्य सामान पनि सुपथ पसलमा राख्नुपर्ने उपभोक्ताको माग छ । रासस