
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा महासंघले आगामी चैत २३ गतेदेखि २५ गतेसम्म महासम्मेलन गर्न लागेको हो ।
मंगलबार पत्रकार सम्मलेन गर्दै महासंघले सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने थिमका साथ उक्त सम्मलेन गर्ने जानकारी गराएको हो । महासम्मेलनको उद्घाटन चैत २३ गते सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्ड’ गर्ने छन् भने समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछन् । जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरू, पूर्व गर्भनर, सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरूको प्रस्तुति रहने छ । महासम्मेलनमा अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरूको पनि महत्वपूर्ण प्रस्तुति रहने छ ।
७३ लाखभन्दा बढी सदस्यहरू आवद्ध रहेको नेपाली सहकारी अभियानमा ५६ प्रतिशत महिला सदस्य रहेका छन् र १ लाखभन्दा बढी जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरिरहेको सहकारी क्षेत्रको योगदानहरूलाई संस्थागत गर्दै वर्तमान वित्तीय प्रणालीमा देखिएको संकटका मुद्दाहरूको सम्बोधन गर्नुका साथै महासम्मेलनले सन् २०३० सम्मका लागि अभियानको स्पष्ट रणनीतिक गन्तव्य तय गर्ने बताइएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम समेत छ । साथै, अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा महासम्मेलनलाई सम्बोधन गर्नेछन् ।
त्यसैगरी, अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्द्रपाल सिंह यादव, अल चाइना फेडरेसन अफ सप्लाई एण्ड मार्केटिंग कोअपरेटिभका उपाध्यक्ष काई झेनहोंग, नेशनल एग्रिकल्चरको अपरेटिभ फेडरेशन, दक्षिण कोरिया उपाध्यक्ष जे सिक जापानिज कन्जुफा कोअपरेटिभ युनियनका उपाध्यक्ष सितोसे अराई, नेडाकका अध्यक्ष तथा आइएस एमडी पंकज कुमार वन्स्याल समेत महासम्मेलनमा सहभागी हुने छन् ।
महासम्मेलनमा करिब १ हजार जनाको सहभागीता रहने बताइएको छ ।