काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् ।
मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला भुल्ने समय नभएको बताएका हुन ।
‘राष्ट्र चौतर्फी सङ्कटमा छ। अब तदर्थ ढंगले सरकार चलाएर हामीले परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था छैन’, उनले भने, ‘खादा–मालामा भुल्न हामीसँग समय छैन। “सम्भव छैन” भन्ने निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नहोस् ।’
मन्त्रीहरुले अहिले नै बधाई लिने बेला नभएको बताउँदै उनले ‘बधाई अहिले म भनिहाल्दिनँ किनकि त्यसका लागि पहिले हामीले आफ्नो भूमिकामाथि न्याय गर्दै राष्ट्रले दिएको परीक्षा उत्तीर्ण गर्नु छ ।’
सत्तारुढ गठबन्धनका दलहरुबीचको वैचारिक भिन्नताको प्रभाव सरकार सञ्चालनमा पर्न हुँदैन भन्दै प्रधानमन्त्रीले न्यूनतम साझा कार्यक्रमको मार्गनर्देशनमा काम गर्नुपर्ने बताएका थिए ।