काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बढ्दो बैंकको ब्याजदर र तरलताका विषयमा चासो राखेका छन् ।
सोमबार बैंक ब्याजदर र अहिलेको अवस्थाका बारेमा मन्त्रालयमा नेपाल बैंकर्स एशोसिएसनका पदाधिकारीसँग भएको छलफलमा उनले सो विषयमा चासो देखाएका हुन् ।
उनले बैंकर्ससँग बैंकको ब्याजदर घटाउन र कर्जा प्रवाहको अवस्था सहज बनाउन समेत आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री महतले बैंकिङ क्षेत्रको समस्या समाधानमा पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
बैंकर्सहरूले बैंकिङ क्षेत्रमा अहिले स्थिति सहज बन्दै गएको ब्याजदर घट्ने चरणमा रहेकोले विस्तारै समस्या समाधान उन्मुख भएको बताएका थिए ।
उक्त भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन् ।
भेटमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहित पदाधिकारीहरू सहभागी थिए ।