काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत रुपमा छिरेको भन्दै विवादमा मुछिएका पूर्व कर्मचारी रघुनाथ घिमिरे विरुद्ध भ्रष्टाचार मुद्धा परेको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट लेखनका क्रममा भन्सार विभागका पूर्व कर्मचारी समेत रहेका घिमिरेलाई छिराएको भन्दै विवादमा परेका थिए । सोही विषयलाई लिएर उनले अर्थमन्त्रीबाट राजीनामा समेत दिनुपरेको थियो ।
बजेट लेखनका क्रममा अर्थ मन्त्रालयको सिसि क्यामरामा समेत नदेखिएका उनै घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेको पाइएको छ । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र हो । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेका भन्दै आइतबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।