काठमाडौं, ८ कात्तिक । फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा कार्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पुरा भएको छ । ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पुरा भइसकेको फ्यान उपाध्यक्ष तथा मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिएका छन् ।
दिपावली तथा छठ पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहने संयोजक तिमिल्सिनाले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मेलामा ब्यबसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा र सूचना मुलक ३ रहेका छन् ।
मेलामा सहभागी व्यवसायीबीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर र मिनियचर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिने बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रतिश्पर्धाले ब्यबसायीलाई हौसला प्रदान गर्ने र पुरस्कारले सम्मान पाउने बिचार ब्यक्त गरेका छन् । रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागेको फ्यानको मुख्य उद्देश्य तिहार पर्बको आकर्षणको रुपमा रहेको गोदावरी फूलको ब्यबसाय प्रवद्र्धन गर्नु रहेको छ ।
मेला प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प ब्यबसायको बिकास, बिस्तार तथा प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको बताउँदै फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले नेपाल बाताबरणीय बिबिधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प ब्यबसायको बिकास तथा प्रबद्र्धनको सम्भाबना प्रचुर रहेको बताए ।
कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब डा. रुद्रबहादुर श्रेष्ठले पुष्प क्षेत्रमा आयात प्रतिस्थापन गर्न नेपाल सरकारले अनुदान सहयोग गर्दै आइरहेको र यसको नतिजाका लागि समय लाग्ने बताए । आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको बताउँदै फ्यानका महासचिब मिन बहादुर तामाङले हाल सम्म ३९ जिल्लामा यसको कारोबार हुदै आएको बताएका छन् ।