काठमाडौं, ७ कात्तिक । कर छली तथा राजस्व चुहावट नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक चुडामणि शर्मा र राजस्व अनुसन्धान विभागका तर्फबाट महानिर्देशक निर्मलहरि अधिकारीबीच समझदारी पत्रमा कात्तिक ७ गते हस्ताक्षर भएको छ । आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने, कर सहभागिता अभिवृद्धि गर्ने र समग्रमा राजस्व संकलन बढाउने ध्येयले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्राप्त गरेका राजस्व चुहावट सम्बन्धी सूचनाहरु आदान प्रदान गर्ने सम्बन्धमा दुवै पक्षबीच पारस्परिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा कर छली तथा राजस्व चुहावट सम्बन्धी अनुसन्धान गर्न प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधिभित्र रही आवश्यकताअनुसार एक आपसमा सूचना आदान प्रदान गरिने उल्लेख गरिएको छ । कर छली तथा राजस्व चुहावट सम्बन्धी जोखिमका क्षेत्रहरु पहिल्याई सोको निवारणका लागि संयुक्त वा अलग अलग रुपमा जोखिम व्यवस्थापन गरिने, आ–आफ्नो क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अनुसन्धान तथा अन्वेषण गरी आवश्यकताअनुसार निष्कर्ष आदान प्रदान गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
त्यसैगरी कर छली तथा राजस्व चुहावट नियन्त्रण सम्बन्धी कार्यमा संलग्न जनशक्तिहरुको क्षमता विकास गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । दुवै पक्षले सूचना आदान प्रदान गर्ने कार्यलाई व्यवस्थित गर्न आ–आफ्नो निकायमा सम्पर्क व्यक्ति तोकिने तथा दुवै पक्षले आआफ्नो निकायमा संचालन रहेका विद्युतीय अभिलेख प्रणालीहरुमा आवश्यकताअनुसार तोकिएका पदाधिकारीहरुलाई सहज पहु“चको व्यवस्था गरिने पनि उल्लेख गरिएको छ । समझदारी पत्र २ वर्षको लागि मान्य हुने तथा आपसी समझदारीमा आवश्यकता अनुसार पुनः नवीकरण गर्न सकिने जनाइएको छ । समझदारी पत्र दुवै पक्षबाट हस्ताक्षर भएको मितिदेखि लागू हुने र दुवै पक्षबाट आपसी सूचना आदान प्रदानको अभिलेख व्यवस्थित गरी सोको वार्षिक प्रतिवेदन तयार गरी सो समेत आदान प्रदान गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । दुवै पक्षको सहमतिमा आवश्यकताअनुसार समझदारी पत्रमा संशोधन गर्न सकिने पनि उल्लेख गरिएको छ ।