काठमाडौं । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात सात करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।
मंगलबार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पश्मिनाको निर्यात सात करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ योजना सार्वजनिक गरेका हुन् ।
निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पश्मिनाको निर्यात बढाउन र पश्मिनाको उत्पादनलाई विश्व बजारमा पुर्याउने उद्देश्य सरकारको रहेको छ । राष्ट्रिय पश्मिना क्षेत्र निर्यात रणनीति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिइपिसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ ।
कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले पश्मिना उद्योगको विकास र बिस्तारमा ठूलो टेवा पुग्ने बताए । उनले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको उनलाई प्रशोधन गरी पश्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको उनले उचित मूल्य पाउने विश्वास व्यक्त गरे ।
मन्त्री भण्डारीले नेपालमा नै च्याङ्ग्राको उनलाई प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य,बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने दाबी गरे । उनले नेपालभित्र पश्मिनाको धागो उत्पादन गरी पश्मिनाजन्य वस्तुको उत्पादन र गुुणस्तर बढ्ने बताए । उनले रणनीति योजनाले पश्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतिको समाधान गरी पाँच वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै, उद्योग सचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको उन उत्पादन बढाउन हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । ‘च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीय स्तरमा रोजगारीको सिर्जना हुन्छ, किसानले उचित मूल्य पाउँछन्,’ उनले भने ।
सचिव मरासिनीले निर्यातजन्य वस्तुहरुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजनाहरु बनाइरहेको पनि बताए । उनले निर्यातजन्य नेपाली वस्तुहरुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे ।
त्यस्तै, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले निजी क्षेत्रका लागि प्रभावकारी हुने बताए । ‘अहिले नेपालमा पूर्णरुपमा पश्मिनाको धागो विदेशबाट आयात हुन्छ, नेपालमा नै च्याङ्ग्राको उन प्रशोधन गरेर पश्मिनाको धागो बन्नु सकारात्मक पक्ष हाे,’ उनले भने ।
उहाँले नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भएपनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको बताए ।
मंगलबार नै पश्मिना प्रशोधनको लागि पश्मिना फाइवर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास भएको छ । नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैंयाँ (करिब १ करोड ९३ लाख अमेरिकी डलर बराबर ) बराबरको पश्मिना सल निर्यात गरेको थियो ।